काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आइतबार बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

खासगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेम्वाङले पार्टी एकता जोगाउन दुवै अध्यक्ष चिन्तित रहेको आफूले पाएको बताएका छन् । तर, उत्पन्न विवाद समाधानका लागि ठोस कदम नचालिएकोप्रति नेम्वाङले पनि प्रचण्डसँग चिन्ता प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीको धारणा प्रचण्डलाई सुनाउँदै आफूले प्रचण्डलाई विवाद समाधानका निम्ति सकारात्मक र गम्भीर बन्न आग्रह गरेको नेम्वाङको भनाइ छ । दुवै अध्यक्षको धारणा सुनेका नेम्वाङ पार्टी एकता जोगाउन दुवै अध्यक्ष उत्तिकै चिन्तित रहेको पनि बताउँछन् ।

आज दिउँसो १ बजे बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठकलाई लक्षित गरी नेम्वाङले दाहालसँग भेटवार्ता गरेका हुन् । तर, पार्टीभित्र जारी विवाद अन्त्यका लागि भने ठोस कुराकानी भएको वा नभएकोबारे नेम्वाङले केही खुलाएका छैनन् ।

गएको २१ मंसिरमा शुरु भएको स्थायी कमिटी बैठक एक साता स्थगित गरेर आज बस्दैछ । तर, आजको बैठकमा केन्द्रीय सदस्य कमानसिं लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी भएको बताइएको छ ।

सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन । बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् ।

दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाएका थिए ।

मंसिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

नेकपाभित्र मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता लगायतबारे विवाद उत्पन्न भएर दुई अध्यक्षबीच लिखित आरोप–प्रत्यारोपपत्र सुरु भएको हो ।

सचिवालय बैठकले समाधान गर्न नसकेपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गरेको हो । स्थायी कमिटी बैठक लम्बिएका कारण गएको २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आउँदो पुस ५ गतेका लागि सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय