उर्लाबारी । खुल्ला सीमानाको कारण भारतबाट प्रतिबन्धित औषधिहरू ल्याएर विक्री गर्ने समूहले औषधि व्यवसायीहरूलाई बद्नाम गराउने काम गरेको बताएका छन् ।
मोरङको उर्लाबारीमा आज नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला कार्यसमितिको आयोजनामा भएको छलफल कार्यक्रममा बोल्दै बक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले भारतबाट रोक लगाइएका औषधिहरू गैरकानुनी रुपमा बिक्री वितरण भइरहेको जनाउँदै उनीहरू यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
संघका केन्द्रीय सदस्य गौतम गुप्ताले रोक लगाइएका औषधि गैरकानूनी रूपमा बेच्ने कार्य कसैले गर्न नहुने बताउनुभयो । प्रतिबन्ध लगाइएको औषधि नेपालमा भित्र्याउन तथा बिक्रीवितरण गर्न नपाइने उनको भनाई छ । भारतबाट नेपाल प्रवेश गर्ने नाकामा कडाई गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले खल्ला सिमानाका कारण अवैध रुपमा प्रतिबन्ध लगाइएको औषधि नेपाल भित्रिरहेकोले त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । औषधि ब्यवसायीहरुले प्रतिबन्धित औषधिहरू विक्री वितरण नगरेको उहाँले दाबी गर्नुभयो । ‘औषधि ब्यवसायीहरुले प्रतिबन्धित औषधिहरू बेच्नुभएको छैन, भारतबाट अबैध बाटो हुँदै प्रतिबन्धित औषधिहरू ल्याएर झोलाका झोला विक्री वितरण हुने गरेको पाएको छौं’ उहाँले भन्नुभयो–‘अबैध तरिकाले ल्याउनेहरुले औषधि ब्यवसायीहरुलाई बद्नाम गराइरहेका छन्, त्यसप्रति सबै सचेत हुनुपर्छ ।’
त्यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीका सई मचिन्द्र लिम्बूले प्रतिबन्धित अवैध औषधि विक्री वितरण गर्नेलाई कानुनी कार्वाही हुने बताउनुभयो । प्रतिबन्धित अवैध औषधि लागुऔषधका रुपमा युवाहरुले प्रयोग गर्ने क्रम बढेको र त्यसले समाजमा शान्ति, सुरक्षामा चुनौति थपिएको बताउँदै कानुनअनुसार काम गर्न औषधि ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । संघका झापा जिल्लाका पूर्व सदस्य प्रकाश धिमाल, औषधि ब्यवसायी मनोज शाक्यलगायतले औषधि ब्यवसायीहरुलाई बद्नाम गराउने काम भइरहेको उल्लेख गर्दै त्यसका बारेमा सबै चनाखो हुनु पर्ने बताउनुभएको छ ।
कार्यक्रममा उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र मिक्लाजुङ गाउँपालिकाका ४० भन्दा बढी औषधि ब्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन संघका महासचिब अरुणकुमार ठाकुर ब्राहमणले गर्नुभएको थियो भने संघका अध्यक्ष देशबन्धु ढकालको सभापतित्वमा भएको थियो ।
ADVERTISEMENT