
काठमाडौं, चालु सिजनको लागि सरकारले उखुको मूल्य प्रतिक्वीन्टल पाँच सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ। यो न्यूनतम् समर्थन मूल्य भएको सरकारले जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। गत वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३४ रुपैयाँ ५६ पैसा पाएका थिए। यस वर्ष सरकारले तोकेको मूल्य गत वर्षभन्दा ८ रुपैयाँ २३ पैसा बढी हो।
लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उखुको मूल्य निर्धारण गरेको हो। उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार उखुको उत्पादन लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा जोडेर पाँच सय ४४ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण गरिएको हो।