काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले पूर्वसभामुख ढुंगानाप्रति गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि आज राष्ट्रिय सम्मानका साथ गरिने कार्यक्रम रहेको छ ।