दाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार पनि बयान लिँदैछ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको खातामा पैसा आएको देखिएपछि अनुसन्धानका लागि कास्कीबाट उनलाई मंगलबार रूपन्देही लगिएको थियो।
सोही प्रकरणमा तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालयले उनको लिखित बयान लिँदैछ।
बिहान सवा १० बजेबाट लामिछानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिने तयारी छ। बयान सकिएपछि लामिछानेलाई बिहीबार नै कास्की पठाइने रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले बताए ।
सरकारी न्यायाधिवक्ता प्रेमराज पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृतले लिखित बयान लिइरहेका छन्।
बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।