विराटनगर । कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार उनकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौं लगेको थियो ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले निवर्तमान मन्त्रीअधिकारीलाई अनुसन्धान गर्न दुई दिनको म्याद दिएको बताए । प्रहरी नियन्त्रणमा आएसँगै निवासबाट बाहिरिने क्रममा उनले आफूले अनुसन्धानलाई सहयोग गर्ने प्रतिक्रिया दिए ।
जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनी अनुसन्धानको दायरामा आएका हुन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए । त्यतिबेला असम्बन्धित मान्छेलाई समेत उनले लगेको पाइएको थियो भने सबैलाई जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।
यो प्रकरणपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीले जिम्मेवारीबाट पनि हटाएको छ । मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित ७ जना पक्राउ परेका छन् ।