विराटनगर । नेकपा एमाले कोशी प्रदेश समितिले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा पदको दुरुपयोग गरी मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि पार्टी प्रदेश कमिटीले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा एमालेको संगठित सदस्यसमेतबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेकपा एमाले कानुनी शासनको पक्षमा उभिदै आएको र यस भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन र अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न विज्ञप्तिमा माग गरिएको छ । जारी विज्ञप्तिमा भनिएको छ ‘माननीय श्री लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको संगठित सदस्यसमेतबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।’
जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय लिलाबल्लभ अधिकहारीले मन्त्रीको हैसियतमा केही दिनअगाडि वैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरुसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरित जापनको भ्रमण गर्नुभएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट हताइसहिएको’ भनिएको छ ।
यस्तै एमालेले मानव तस्करीको गम्भीर आरोप लगाएर विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपा एमालेमाथिसमेत गम्भीर आरोप लगाउँदै गम्भीर प्रकृतिका अनियमितताका घटनाहरु ढाकछोप गर्ने प्रयत्न भइरहेकोमा असन्तुष्टि जनाएको छ ।
अधिकारीमाथि मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पदबाट राजीनामा गर्न निर्देशन दिएका थिए । लगतै मन्त्री पदबाट राजीनामा दिएका अधिकारीले आफूले प्रहरीलाई सहयोग गरेको तर उक्त गिरोहमा संलग्न नरहेको जिकिर गर्दै आएका छन् ।