
मोरङ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनालाई मिलापत्र गाउने कार्यत्रमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवास छन् ।
गत भदौ २४ गते साँझ धनपालथान गाउँपालिका–५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार भएका थिए ।
अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका–७ रंगेली बजारबाट पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित आ–आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।