पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।

गत कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एकसाथ अनुसन्धान गरिरहेको छ । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद कात्तिक १४ गते नै सकिएको भए पनि तिहार बिदाका कारण हिरासतमै राखिएको छ ।

यसैबीच, लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न रूपन्देही प्रहरीले बुटवल ल्याउने तयारी थालेको छ । रूपन्देही प्रहरीले आज म्याद थप नभएको अवस्थामा आजै र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने तयारी गरेको हो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय