उर्लाबारी । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै उर्लाबारीलगायतमा छठको तयारी सुरु भएको छ ।
उर्लाबारीको मावा खोलाको किनारमा सरसफाईसहित आकर्षक रुपमा छठ घाट निर्माणका लागि तयारी थालिएको हो । तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको मैथिलि समाज सेवा समितिका अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ ।
ADVERTISEMENT