
काठमाडौं, नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरेको छ । जसले गर्दा देशका धेरै ठाउँको तापक्रम घटेको र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएको छ ।
तराई क्षेत्रमा हुस्सुका कारण सडक र हवाई यातायातमा प्रभाव पर्ने भएकोले विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।