उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेललाई कुट्ने उर्लाबारी–७ का मिलन भण्डारी एमाले उपाध्यक्ष गुरुप्रसाद बरालको भान्जा भएको खुलेको छ ।
४८ बर्षीय भण्डारी पनि एमाले कार्यकर्ता भएको बताइएको छ । थेरापी सेवा प्रदान गर्दै आएका भण्डारीले आफ्नो योजनामा नगरप्रमुखले वेवास्था गरेको भन्दै आक्रोशित भएका थिए । थेरापी तथा योगा सम्बन्धि प्रशिक्षण कार्यक्रम गराउन भण्डारीले चाहेका थिए । केही दिनदेखि उनले नगरपालिका कार्यालय धाइरहेका थिए । आइतबार पनि उनी नगरपालिका पुगेका थिए । सो दिन पनि उनी नगरप्रमुखप्रति आक्रोश पोखेका थिए । कार्यालय परिसरमा आइतबार भेटिएका भण्डारीले भनेका थिए,‘मेयरको मनोमानी भयो ।’ सोमबार पनि भण्डारी नगरपालिकाको कार्यालय पुगेका थिए । विहान ११ बजे उनले योजना माग गर्दै नगरप्रमुख खरेललाई भेटेका थिए । तर, साँझ ४.४५ मा एक्कासी नगरप्रमुख खरेलमाथि जाइलागे । नगरप्रमुखमाथि हातपात गरेपछि भण्डारीमाथि पनि कुटपिट भएको बुझिएको छ ।
हातपात गर्ने भण्डारीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । भण्डारीले नगरप्रमुखमाथि किन हातपात गरेका हुन् भन्ने बिषय खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । भण्डारीलाई प्रहरीले पक्राउ गरेको भएपनि हालसम्म नगरप्रमुख खरेलले उजुरी नदिएको प्रहरीले जनाएको छ । आज अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय