दमक । जग्गा विवादका कारण झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने पीडित परिवारले जनाएको छ ।
मंगलबार दिउँसो ४ः२३ बजे दमक–३ स्थित मावा खोला नजिक रहेको विवादित जग्गामा उनको हत्या भएको थियो । हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कार्वाहीमा ल्याउन माग गर्दै पीडित तथा आफन्तहरुले इलाका प्रहरी कार्यालय दमक अगाडि बिहीबार पनि प्रदर्शन गरेका छन् । एमालेको मतियार बनेर प्रहरीले दोषीलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै पीडित परिवार आक्रोशित बनेका छन् । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई आम्दा अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मदन भण्डारी राजमार्गसँगै जोडिएको जग्गा लामो समयदेखि विवादित थियो । विगतमा क्रसर राखिएको यो जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एक्स्काभेटर लगेर सम्याउन थालेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् । भेला भएका दुई पक्षबीच विवाद बढ्दै जाँदा निरौलामाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।
निरौलाको हत्यामा संलग्न भएको भन्दै परिवारले ७ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । बुधबार एमालेका कार्यकर्ता बुद्धि थापासँगै दमक–३ का राजु भनिने शेरबहादुर नेम्बाङ, संखुवासभाको मादी नगरपालिका–१० घर भई दमक–३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी–६ का प्रकाश कार्की, उर्लाबारी–७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी दिएको थियो भने बिहीबार एमाले नेता नम चेम्जोङविरुद्ध पनि जाहेरी दिएका छन् । चेम्जोङकै योजनामा निरौलाको हत्या भएको पीडित परिवारको दाबी छ । आरोपितमध्ये दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँकी फरार छन् । सिसिटिभी फुटेजमा दमक–३ मा रहेको विवादित जग्गामा गाडी लिएर पुगेको समूहले निरौलामाथि कुटपिट गरेको र चेम्जोङलाई पनि देखिएको पीडित परिवारको भनाई छ ।
ADVERTISEMENT