काठमाडौं । आज दशैं टीकाको तेस्रो दिन तथा आश्विन शुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैंको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ ।
नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजनकहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन् ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशिर्वाद थाप्ने प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।