उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकाहरुले दशैंको टिका यस पटक फरक तरिकाले लगाएका छन् ।
सधैं गृहकी अध्यक्ष मिनादेवी बराल हातबाट टिका लगाउँदै आएका बालबालिकाहरुलाई यस पटक मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले आफ्नै घरमा बोलाएर दशैंको टिका लगाइदिनुभएको हो । अध्यक्ष राईले दशैंको टिका र आर्शिवाद दिनुभएको छ भने उहाँकी श्रीमति कोशेली कार्की राईले जमरा र दक्षिणा प्रदान गर्नुभयो । राईकै समन्वयमा बालबालिकाहरुलाई दशैंको लुगासमेत वितरण गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले गृहका बालबालिकाहरुसँग दशैं मनाउँदा खुशी लागेको बताउनुभयो ।
विहानको खानासहित अध्यक्ष राईको घरमा दशैंको टिका लगाउन पाउँदा बालबालिकाहरु खुशी देखिन्थे । रातो टिका र समृद्धिको प्रतीक जमरासँगै दक्षिणा पाएपछि बालबालिकाहरुको मुहारमा खुशीयाली छाएको गृहकी अध्यक्ष मिनादेवी बरालले बताउनुभयो । २०५७ देखि उर्लाबारी–७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्र उर्लाबारीद्वारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकाहरुलाई सामुहिक टिका पहिलो पटक गृह बाहिर लगाइएको हो । नेपालभरीका ६७ जना बालबालिकाहरु गृहमा आश्रित रहेका छन् । सहयोगीदाताको भरमा सञ्चालन हुँदै आएको यो बाल गृह कोशी प्रदेशकै उत्कृष्ट रहेको छ ।