सरोज बस्नेत
मंसिर २३ गते विहान ७ बजे मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ बर्खेस्थित सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अपहरण गरियो । घरमै बसिरहेका प्रधानाध्यापक श्रेष्ठलाई ६÷७ जनाको समूहमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताले हात बाँधेर जंगलतर्फ लगे ।
उक्त समूहले घरमा एक्लै भएको अवस्थामा प्रधानाध्यापक श्रेष्ठलाई हात बाँधेर लैजाने क्रममा नजिकका छरछिमेकीलाई साथीहरुले सोधपुचका लागि भन्दै लगे है भनेर सुनाएका थिए । सोधपुजका लागि भन्दै प्रधानाध्यापक श्रेष्ठलाई जंगलतर्फ लगेको स्थानीयले थाहा पाएपछि खोजी गर्ने क्रममा करिब ८ बजे विभत्स तरिकाले हत्या गरेको अवस्थामा घरदेखि करिब १ किलोमिटर क्षेत्रमा पर्ने जंगलमा शव भेटियो । घाँटी रेटेर विभत्स तरिकाले प्रधानाध्यापक श्रेष्ठको हत्या भएको थियो । उनको घाँटीमा गहिरो काटिएको थियो भने दुबै हात बाँधिएको अवस्थामा शव भेटिएको थियो ।
शव भेटिएको भन्दा करिब ५० मिटरमाथी प्रधानाध्यापक श्रेष्ठको फोन, टोपी र चप्पल भेटिएको छ । जहाँ ब्लटसमेत थियो । सोही स्थानमा प्रधानाध्यापक श्रेष्ठलाई चरम यातना दिएको देखिन्छ । लठ्ठीले कुट्दै धारिलो हतियार प्रयोग गरी उनको विभत्स तरिकाले हत्या गरिएको छ । विहान ८ बजे प्रधानाध्यपक श्रेष्ठको शव भेटेपछि स्थानीयबासीले सोही वडाका वडाध्यक्ष नरबहादुर राईलाई घटनाका बारेमा जानकारी गराएका थिए । वडाध्यक्ष राईले सो घटनाका बारेमा प्रहरी तथा सम्बन्धित निकायमा जानकारी गराएका थिए । श्रेष्ठकी श्रीमती ५३ वर्षीया धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँस पानी दिन गएको बेला सो घटना भएको बताइन् । सोमबार राति पनि सोही समूहका दुई जना घर आसपासका क्षेत्रमा आएको देखेपनि खासै वास्ता नगरेको उनको भनाई छ । उनले आफ्ना श्रीमानको विभत्स तरिकाले हत्या गर्नेलाई हदैसम्म कार्वाही गर्न माग गरेकी छिन् । श्रेष्ठका श्रीमती, एक छोरा र छोरी छन् । छोराछोरी दुबैको विवाह भइसकेको छ । घरमा श्रीमान र श्रीमतिमात्रै बस्दै आएका थिए । उनका छोरा ३० वर्षीय छत्रबहादुर बिहे गरेर मधुमल्लामा परिवारसहित खेतीपाती गरेर बस्दै आएका थिए ।
प्रहरी पुग्न ७ घण्टा
प्रधानाध्यापक श्रेष्ठको हत्या भएको जानकारी प्रहरीसँग लगभग विहान ८ बजेमा आइपुगिसकेको थियो । तर, प्रहरी भने घटना स्थलमा दिउँसो ३ बजे मात्र पुगेको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धब पोखरेलसहित जनपथ र सशस्त्र प्रहरी घटना स्थलमा ट्याक्टरमा पुगेको थियो । मिक्लाजुङ गाउँपालिका वडा नं. १ को कार्यालय आइतबारेबाट करिब ३ घण्टामा घटना स्थल पुगिन्छ । अत्यन्तै विकट तथा बिग्रेको सडकका कारण त्यस स्थानमा धेरै समस्या भएको एक प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपीसहितको प्रहरी टोलीको गाडी लावा खोला नजिक बिग्रेपछि झण्डै तीन घण्टा हिँडेर घटना स्थलमा पुगेको थियो ।
हतारले प्रहरी नै पंगु बन्यो
घटना स्थलमा प्रहरी दिउँसो ३ बजे पुगेको थियो । तर, प्रहरीले विहानै अधिकांश सञ्चारमाध्यमलाई नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानाध्यापक श्रेष्ठको गोली हानी हत्या भएको जानकारी गराएको थियो । पछि घटना स्थलमा पुग्दा प्रहरीले गोली होइन धारिलो हतियार प्रयोग चाल पायो । प्रहरीले घटना स्थलमा नपुगी सुनेको आधारमा गोली प्रहार गरी हत्या गरेको सूचनाले प्रहरी नै ‘पंगु’ बन्न पुगेको थियो । स्थानीयबासीका अनुसार त्यहाँ कुनै गोलीको आवाज आएको थिएन । कसरी प्रहरीलाई गोली प्रहारको सूचना पुग्यो त ? स्थानीय नै अचम्ममा छन् ।
घटनापछि त्रासमा स्थानीय
प्रधानाध्यापक श्रेष्ठको विभत्स तरिकाले हत्या भएपछि स्थानीयबासी त्रासमा छन् । मिक्लाजुङ वडा नं. १ साविक रमितेखोला गाविसमा सुरक्षा निकाय छैनन् । विगत लामो समयदेखि सशस्त्र प्रहरी बेस क्याम्प स्थापनाका लागि माग भइरहेको भएपनि कतैबाट सुनुवाई नभएको वडाध्यक्ष नरबहादुर राईको गुनासो छ । त्रासमा वडाबासी बस्नु परेको भन्दै उनले प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानाध्यपक श्रेष्ठको हत्या भएपछि गाउँमा बस्न असुरक्षित महशुस भएको स्थानीय गोविन्द श्रेष्ठले बताए । जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन उनले माग गरे ।
प्रहरी र विप्लवको चपेडामा बर्खेबासी
मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङ ‘विप्लव’ समूहको परेडस्थल मानिन्छ । यसमा ‘विप्लव’ समूहको सैन्य तालिम हुँदै आएको बुझिएको छ । पछिल्लो समय बर्खेलगायत क्षेत्रमा प्रहरीको गस्ती बढेको थियो । स्थानीयबासीहरुलाई प्रहरीले अनावश्यक रुपमा शंका गरी तनाब दिने, मोबाइल जफत गर्ने जस्ता कार्य गरेको एक स्थानीयले बताए । ‘प्रहरी आउँछ हामीलाई तनाब दिन्छ’, स्थानीय एक ब्यक्तिले भने–‘विप्लव कार्यकर्ता आउँछन् हामीलाई नै तनाब दिन्छन् । अब यहाँ कसरी बस्ने ?’ प्रहरीको गस्ती बढेपछि विप्लव कार्यकर्ता रुष्ट बनेका थिए । उनीहरुले स्थानीयबासीबाटै सुराकी भएको आशंका गर्दै निगरानी बढाएको बुझिएको छ । सोही क्रममा प्रधानाध्यापक श्रेष्ठको विभत्स तरिकाले हत्या भएको हो ।
बर्खेबासीका प्रिय थिए राजेन्द्र सर
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले बर्बरतापूर्वक ढंगले हत्या गरिएका स्थानीय सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ बर्खेबासीका लागि प्रिय थिए । शिक्षाका साथै विकास निर्माणलगायतका कार्यमा उनकै नेतृत्व हुने गर्थियो । विगत २५ बर्षदेखि उनले सो विद्यालयमा पढाउँदै आएका थिए । प्रधानाध्यापक श्रेष्ठले सडक विस्तार, सामाजिकलगायत कार्यमा ठूलो देन रहेको स्थानीय राईले बताए । उनले भाबुक हुँदै भने–‘हामीले शिक्षासेवा तथा विकासप्रेमी अभिभावक गुमायौं ।’ २०४६ सालबाट शिक्षण पेसा सुरु गरेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य पनि थिए ।
कि भयो प्रधानाध्यपक श्रेष्ठको हत्या ?
विप्लवले पार्टीविरुद्ध लामो समयदेखि प्रधानाध्यापक श्रेष्ठले सुराकी गरेको र सच्चिन आग्रह गर्दा पनि अटेर गरेकाले यो घटना भएको दाबी गरेको छ । तर, स्थानीयबासीले भने चन्दा नदिएको कारण हत्या भएको हुन सक्ने बताउँछन् । गत असारमा ‘विप्लव’ समूहले १० हजार चन्दा माग गरेका थिए । सो क्रममा ५ हजार मात्र रहेको बताएपछि सो पनि नलिई ‘विप्लव’ समूहका कार्यकर्ता फर्किएका थिए । यसैसाता पनि बाहिरबाट सरहरु आउनु हुन्छ भन्दै बाख्रा मागिएको बताइएको छ । तर, श्रेष्ठले बाख्रा पनि नदिएपछि ‘विप्लव’ समूहका कार्यकर्ता रुष्ट बनेको जानकार स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय