उर्लाबारी । मोरङको उर्लाबारीमा संविधान दिवसको अवसरमा आयोजना गरिएको उर्लाबारी रनको पुरुषतर्फ भारतको सिक्किमका पुरन राई र महिलातर्फ नेपाल आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ ।
बिहीबार सामुदायिक विकास मञ्च उर्लाबारीको आयोजनामा भएको रनमा १० किलोमिटर दूरी ३१ मिनेट ५४ सेकेन्डमा पार गर्दै राईले ३० हजार रुपैंयाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा बैतडीका नरेन्द्रसिंह राउत ३२ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । काठमाडौँका नागेश्वर अहिर ३२ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो । दोस्रो र तेस्रोलाई क्रमशः २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र र पदक प्रदान गरिएको छ । यस्तै, महिला खुलातर्फको उपाधि नेपाल आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले ४१ मिनेट ५ सेकेन्डमा १० किलोमिटर दूरी पार गर्दै ३० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरी दोस्रो र सुनकला राई तेस्रो हुनुभयो । चौधरीले ४१ मिनेट ३८ सेकेन्ड र राईले ४५ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभयो । भेट्रान्सतर्फ दोलखाका नवराज कार्की प्रथम हुनुभयो । उहाँले निर्धारित दुरी ४२ मिनट ९ सेकेन्डमा पार गर्नुभयो भने दोस्रो स्थानमा ४३ मिनेट २० सेकेन्डमा मंगल तामाङले पुरा गर्नुभयो भने ४७ मिनेट १० सेकेन्डमा पुरा गर्दै विजय कार्की तेस्रो स्थान हुनुभयो । उहाँहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
१५ वर्षमुनिको पुरुष खुलातर्फ एडिड एन्जल खड्काले १४ मिनेट २९ सेकेन्डमा ५ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभयो ।
त्यस्तै विमल थापा १४ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र १५ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै सम्पादन राई तेस्रो हुनुभयो । १५ वर्षमुनिको खुला महिलामा जुहि राई प्रथम, विनीता राई दोस्रो र रश्मि राई तेस्रो हुनुभयो ।
उर्लाबारी रनको सातौँ संस्करणमा नेपाल र भारतका ६ सय जनाले प्रतिस्पर्धा गरेको सामुदायिक विकास मञ्चका अध्यक्ष प्रेम बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय