दमक । प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ ।
निल हिरा समाज काठमाडौंको आयोजना तथा लिड नेपाल झापाको समन्वयमा बुधबार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले प्रहरीसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भूमिका श्रेष्ठले लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता सम्वन्धि बुझाईको विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । समुदायको उचित परिभाषाका साथमा समाजमा भोग्नु परेको समस्याका विषयमा उहाँले अन्तरक्रियामा जानकारी गराउनुभयो । त्यस्तै निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले समुदायले समाज तथा परिवारबाट भोग्नु परेको विभेदका विषयमा प्रस्ट्याउनुभएको थियो । परिवार हुँदै समाजबाट विभेद भोग्नुपरेका कारण समुदायका व्यक्तिले प्रगती गर्न नसकेको उहाँको भनाई थियो । साथै पहिचानसहितको नागरिकता प्राप्त गर्न निकै कठिन रहेको उहाँले बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापाले प्रहरीको भूमिका विषयमा प्रस्तुति राख्नुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा प्रहरी निकै संवेदनशिल रहेको र सबैलाई समान नजरले हेर्ने गरिएको उहाँले बताउनुभयो ।
लिड नेपालकी कार्यक्रम संयोजक चञ्चला लिम्बू (नुमा) ले समुदायको बुझाईमा क्रमिक रुपमा सुधार आएको बताउनुभयो । अन्तरक्रियामा इलाका प्रहरी कार्यालय दमकका प्रहरीहरु,सञ्चारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय