
विराटनगर । आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेका सुनसरीको चतरामा बस्ने सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।
सोमबार जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका गिरीको तर्फबाट वकिलहरुको मात्र एकतर्फी बहस सुनेपछि सफाइ दिएको हो ।
जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलका अनुसार अभियोग दाबी नपुगेकाले अदालतले गिरीलाई सफाइ दिएको हो ।
सो मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले भने अदालतमा निवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालययको निवेदन दर्ता नगरी अदालतले गिरीलाई सफाई दिएको हो ।
बलात्कार मुद्धामा थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्दा पुगेकोमा गत साता मात्र सर्बोच्चले उनलाई थुनामै राखेर पुर्पपक्ष गर्न आदेश दिएको थियो । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाईमा पनि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गरेकोमा उच्च अदालत विराटनगरले थुनामा पठाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयबाट सर्बोच्चमा बहसको क्रममा मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएकोले सोमबारको पेशी सार्न सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो ।
आफूहरुसँग मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको तर सुनुवाई नभएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले जानकारी दिनुभयो ।
सोमबारको इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरेको, दर्ता फाट र श्रेस्तेदारलाई बुझाउदा पनि पत्र नबुझेपछि सरकारी वलिक बहसमा नगएको उहाँको भनाइ छ । सरकारी वकिलको कार्यालय मिसिल आएपछि बहस गर्न केही समय माग गरेकोमा अदालतबाट सुनुवाई नगरी एकतर्फी बहस सुनेर फैसला भएको जनाएको छ ।
गिरीको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएकोले अहिले बहस गर्न मिसिल आवश्यक परेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।