विराटनगर,पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यकाे नेतृत्वमा बस्नेहरूले गरेकाे भ्रष्टाचारविरूद्द कदम चालेकाे बताएका छन् ।
माेरङकाे ग्रामथानस्थित नेताचाेकमा आयाेजित पार्टी प्रबेश तथा बृहत् जनसभामा बाेल्दै उनले यस्ताे बताएका हुन् । उनले आफ्नो नेतृत्वमा भएकाे सरकारले सुशासनकाे पक्षमा, भ्रष्टाचारको विरूद्द, सामाजिक न्यायकाे क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेकाे बताए ।
यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावट विजुली बेच्ने सहमति गरेकाे, पञ्चेश्वर परियाेजना अगाडि बढाउन पहल गरेकाे, चीन भ्रमणकाे क्रममा बिआरआई परियाेजना ल्याउने लगायतका सम्झाैता गरेकाे बताए ।
उनले ईटली र राष्ट्र संघकाे महासभामा गरेकाे सम्बाेधनकाे विश्वमा चर्चा भएकाे दाबी गर्दै जसले नेपालकाे छविमा सुधार आएकाे उनकाे दाबी थियाे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनकाे सुई बालकाेट र बुढानिलकण्ठ तिर साेझिएपछि सरकार ढालेकाे उनले बताए । तर, आफू सरकारबाट नपस्कदा पनि बिजेताकाे भावमा जनतामा आएकाे बताउँदै सरकारमा रहनेहरूकाे भने डरले गएकाे साताे अझै नफर्किएकाे दाबी गरे । अहिलेकाे सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएकाे आराेप लगाए ।
पर्यटन व्यवसायीकाे निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेकाे गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर ईतिहास रचेकाे भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाकाे हुन लागेकाे उप निर्वाचनमा पनि काङ्ग्रेस-एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए ।
उनले जनताकाे अपार समर्थन बढ्दै गएकाे भन्दै ८४ काे निर्वाचनमा माओवादीलाई ६४ सालकाे अवस्थामा पुर्याउने दाबी गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूकाे विरूद्दमा काम गरेकै कारण माओवादी ठूलाे पार्टी बन्नै पर्ने उनले बताए ।
अहिलेकाे सरकार भ्रष्टाचारकाे भयबाट बनेकाे र छुट्टयाइएको बजेट पनि दुरूपयाेग हुनसक्ने बताए । दुई तिहाइकाे सरकार छ भनेर दम्भ देखाए भने बंगलादेश हेर्दा हुन्छ भनेर भनेकाे भन्दै उनले शतप्रतिशत मत ल्याएकाे सद्दाम हुसेनकाे उदाहरण हेर्न सुझाव दिए ।
एमालेले आफूले भनेकाे कुरालाई बंग्याएर भ्रम फिँजाउन खाेजेकाे भन्दै सरकारले, जनताकाे र राष्ट्रकाे विरूद्द भ्रष्टाचार मात्रै गरिरहे जनताले देखाउने र आफ्नो पार्टी पनि जनतामै जाने बताए । सरकारले कुलमान घिसिङलाई हटाउन खाेजे उनीहरूले ठूलाे मूल्य चुकाउने बताउँदै त्यसाे नगर्न आफूले सुझाव दिएकाे बताए ।
माओवादीले लडेर आएकाे व्यवस्थामा बसेर माओवादीलाई नै हेला हाेचाे गर्न काेशिस गरे फेरि आन्दोलन उठ्ने उनले चेतावनी दिए । `उनीरूले सत्य र न्यायकाे गला रेट्ने प्रयास गरे भने दलाल र भ्रष्टहरूकाे विरूद्द उठ्नु पर्ने हुनसक्छ´, उनले भने ।
उनले जीवनकाे उत्तरार्ध भएपनि जाेश आएकाे उनले बताए । `भ्रष्टाचारविरूद्द सुशासनकाे पक्षमा लड्ने जाेश आएकाे छ । मरेपछि पनि बाँचिरहने बन्ने मेराे प्रयास छ,´ उनले भने ।
कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल माेदीले भ्रष्टाचार काण्ड जाेगाउनै अहिलेकाे सरकार बनेकाे बताए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका काण्डमा धमाधम कारबाही गर्न थालेपछि काङ्ग्रेस र एमाले अत्तालिएर सरकार परिवर्तन गरेकाे बताए । उनले ग्रामथानमा हुन लागेकाे उपनिर्वाचनमा माओवादीलाई जिताउन आग्रह पनि गरे ।
कार्यक्रममा विभिन्न पार्टी छाेडेर नेपाली काङ्ग्रेसका नेता नमाेनारायण चाैधरीकाे नेतृत्वमा ६ सय बढी सर्वसाधारण माओवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय