
काठमाडौं । विकसित मुलुकहरूले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकारले खोप आफैं किन्ने वा निजीलाई जिम्मा दिने निर्णयसमेत गरेको छैन ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख भीमसिंह तिंकरीले अहिलेसम्म कोभ्याक्समार्फत आउने खोपको पर्खाइमै रहेको बताए । कोभिड–१९ खोपमा सबै मुलुकको समतामूलक पहुँचका लागि गाभीले नेतृत्व गरेको विश्वव्यापी पहल कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत व्यक्तिलाई पुग्ने खोप सहुलियतमा पाउँदै छ । कोभ्याक्समार्फत पहिलो चरणमा आगामी मार्चसम्ममा ३ प्रतिशत (९ लाख) मानिसलाई पुग्ने गरी र सन् २०२१ भित्रमा बाँकी १७ प्रतिशत (५१ लाख) का लागि खोप आउने अनुमान छ ।
‘हाम्रो आकलनअनुसार नेपालमा सबैभन्दा पहिले कोभ्याक्सअन्तर्गतकै खोप आउनेछ,’ कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा.श्यामराज उप्रेतीले भने ।
विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्याउन र तिनको मूल्य निर्धारण गर्न विश्वव्यापी मञ्चका रूपमा कोभ्याक्स गठन भएको हो । गाभीले नेपालसहित निम्न आय भएका देशहरूमा स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेका मानिसलाई खोप दिलाउन र ती देशमा आवश्यकताअनुसार आपूर्ति गर्न ‘बफर स्टक’ का लागि प्रारम्भिक पुँजी उपलब्ध गराउनेछ । ‘कुनै पनि भ्याक्सिनले आकस्मिक प्रयोगका लागि लाइसेन्स पाउन सकेको छैन,’ तिंकरीले भने, ‘त्यसैले कुन भ्याक्सिन हाम्रा लागि उपयुक्त हुन्छ भन्ने यकिन छैन । पहिलो चरणमा कोभ्याक्समार्फत आउने खोप कुर्नुको विकल्प छैन ।’
स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले मुलुकका ७२ प्रतिशत मानिसलाई कोभिड खोप दिने योजना बनाएको जानकारी दिए । तर त्यसअनुसार सरकारको तयारी फितलो छ । नेपालले खोपका लागि कुनै कम्पनीसँग प्रि–अर्डर वा सम्झौता गरेको छैन ।
छिमेकी मुलुक भारतले आफ्ना ६० प्रतिशत जनतालाई पुग्ने खोपका लागि प्रि–अर्डर गरिसकेको उल्लेख गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा.जीडी ठाकुरले भने, ‘हामी जस्तो गरिब मुलुक भने कोभिड खोपका लागि कोभ्याक्समै निर्भर हुनुपरेको छ ।’ उनले कोभ्याक्स सुविधाबाट आउनेबाहेक खोप ल्याउन सरकारले तुरुन्त गृहकार्य सुरु गर्नुपर्ने बताए । कान्तिपुर दैनिकमा मकर श्रेष्ठ र अतुल मिश्रले समाचार लेखेका छन् ।