
कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेका विराटनगरका विद्यालयहरू पुस २ गतेदेखि खुल्ने भएका छन्।
विराटनगर महानगपालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै आगामी पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
विहान र दिउँसो गरि विराटनगरमा दुई सिफ्टमा कक्षा सञ्चालन हुने साथै अनलाइन कक्षा पनि सञ्चालनमा ल्याउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए।
कोरोना महामारीका कारण ११ चैतयता विद्यालयले भौतिक रूपमा कक्षा सञ्चालन गर्न पाएका छैनन्। स्कुल खोल्नुअघि अभिभावकसँग छलफल गरेर सतर्कतासहित कक्षा सञ्चालन हुने भन्दै मेयर पराजुलीले जोखिम कम भएकाले विद्यालय खुला गर्ने निर्णय भएको दाबी गरे।
विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६ हजार ८८३ छ। पछिल्लो समय संक्रमण निरन्तर घट्दो क्रममा रहेको मेयर पराजुलीले बताए। कोरोना संक्रमणको चेन ब्रेक भएको बताउँदै उनले सतर्कताका साथ विद्यालय सञ्चालन गरिने निर्णय भएको बताए।