
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै सम्पन्न भएको छ ।
आइतबार पार्टी कार्यालय धुम्बारहीमा बसेको बैठकमा ओली सहभागी भएनन् ।
प्रधानमन्त्री ओलीले पार्टीको गतिरोध सचिवालय बैठकबाटै खोजिनुपर्ने तथा स्थायी समितिको आवश्यकता नभएको बताउँदै आएका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको बताएका छन् ।
बैठकमा सहभागी नभए पनि प्रधानमन्त्री ओलीले नेता ईश्वर पोखरेलमार्फत स्थायी कमिटी बैठकलाई सम्बोधन गरेर पत्र पठाएको जनाइएको छ । पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने व्यहोरा रहेको जनाइएको छ ।
दुवै अध्यक्षको राजनीतिक प्रतिवेदन पेश भएको र अध्ययनका लागि ७ दिनको समय दिइएको बताइएको छ । त्यस्तै, अब अर्को बैठक मंसिर २८ गतेका लागि बोलाइएको प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै, यसअघि नै तय भएको केन्द्रीय समिति बैठक भने पुस ५ गतेका लागि सारिएको पनि श्रेष्ठले जनाएका छन् ।