उर्लाबारी । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–७ मालती टोलकी २१ वर्षीया अस्मिता कार्की रहेकी छिन् । उनलाई प्रहरीले बुधबार बिहान विर्तामोड नगरपालिका–५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् ।
कार्की भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन् । सोही दिन सुन्दरहरैंचा–७ को केरा बगानमा उनका दुई जना छोरी मृत अवस्थामा फेला परेका थिए । एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष सेवनपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो ।
कार्कीले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ । श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन् । उनीहरू श्रीमानश्रीमतीबीच पटकपटक घरायसी कुरामा विवाद हुने गरेको बुझिएको छ । कार्कीलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ ।
श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी कसुरमा पौडेलविरूद्ध जाहेरी दिएका छन् । पौडेललाई मोरङ जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय