
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु हुन ढिलाइ भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा हुने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पुगिनसकेपछि बैठक ढिलाई भएको हो ।
बैठकका लागि कार्यकारी अध्यक्ष प्रचण्डसहितका अन्य नेताहरु पुगे पनि प्रधानमन्त्री ओली पुगेका छैनन् ।
शनिबारको सचिवालय बैठकमा दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीको बैठकमा लैजाने निर्णय भएपछि प्रधानमन्त्री ओली आजको बैठकको विपक्षमा रहेका छन् । बैठकमा उनी सहभागी हुने नहुनेबारे केही टुंगो लागेको छैन । प्रधानमन्त्री ओलीको उपस्थितिसँगै बैठक सुरु हुने स्रोतले जनाएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षका प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गरेर सार्थक निष्कर्षलाई कार्यान्वयनमा लगिनेछ ।
यसैबीच पार्टी कार्यालयमा हुन लागेको नेकपाको स्थायी कमिटीको बैठकलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । कार्यालयमा परिसरमा बम डिटेक्टरसहित तालिम प्राप्त कुकुरको समेत परिचालन गरिएको छ ।