
डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन् ।
दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिँडेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने स्थानमा आइतबार बिहान १ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको छ ।
बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–७ मा कार्यरत वडासचिव २७ वर्षीया मञ्जु त्रिपाठी, उनकी ५५ वर्षीया सासुआमा (नाम नखुलेको) र ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआईसिँह गाउँपालिका–४ का ४० हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रदेव मल्लले जानकारी दिए ।
घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम रहेका छन् ।
दुर्घटनामा जीप बाटोबाट करिब दुई सय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्वारमा खटिएका शेरबहादुर बमले जानकारी दिए ।
जीपमा चालकसहित आठजना सवार रहेको प्रारम्भीक जानकारी दिइएको छ ।