सरोज बस्नेत

मीना बरालका ४६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् ।
२०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्रो काममा साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो । मीनाले उर्लाबारी–७ मा बालगृह संचालन गरेको १८ वर्ष पूरा भयो । २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी मीनाको वैवाहिक जीवन सफल भएन ।
उनले नयाँ घरमा लामो समय संघर्ष गरिन् । श्रीमानले अर्की श्रीमती ल्याएपछि उनी त्यो घर छाडेर समाजसेवामा लाग्ने निर्णयमा पुगिन् । आफूले सानैमा भोगेको जस्तो पीडा अनाथ बालबालिकाहरूले भोग्नु नपरोस् भनेर उनले मोरङको उर्लाबारीमा २०५७ सालमा असहाय, वृद्ध एवं अनाथ आश्रम खोलेकी हुन् । उनको यो अभियानमा अन्य महिलाहरूले पनि साथ दिए । मीनाकै योजनामा संचालनमा ल्याइएको नमूना बालगृह प्रदेश नम्बर १ कै उत्कृष्ट बालगृहका रूपमा परिचित छ । मीनाले गृहमै बसेर ४६ जना बालबालिकाको संरक्षण गरेकी छिन् । मीनालाई ती बालबालिकाले ‘ममी’ भनेर सम्बोधन गर्छन् । मीना काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन् । बराल भन्छिन्–‘सुरुमा विरोध गर्नेहरू पनि अहिले मलाई सहयोग गरिरहेका छन् ।’
वैवाहिक जीवन असफल भएपछि थुप्रै सन्तानकी आमा बन्ने चाहना राखेकी मीना अहिले उदाहरणीय महिलामा गनिएकी छिन् । सुरुमा उर्लाबारी–६ स्थित राधिका माविले आश्रमका लागि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो भने स्थानीय समाजसेवी सर्वलाल धिमालले पनि २ कट्ठा जग्गा प्रदान गरेका थिए । त्यसैगरी पूर्वमेजर हर्कबहादुर राई, हेमराज न्यौपाने, कालिमाया श्रेष्ठ, शोभित निरौला, अनन्त बराल, खड्गकुमारी ढुंगाना आदिले १४ कट्ठा जग्गा दिए । हाल यो बालगृहमा १ बिघा क्षेत्रफलमा फैलिएको छ । बालगृहमा २० कोठाको दुई तले भवन र अर्को ९ कोठाको दुई तले भवन, ४ कोठाको पक्की दुई तले भवन, २ कोठाको व्यवस्थित भान्सा घर, जस्ताको छानो भएको पक्की गाईगोठ छ भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा भारतीय दूतावासले एम्बुलेन्स प्रदान गरेको थियो । उक्त एम्बुलेन्स हाल पनि संचालनमा छ ।
२०५८ सालमा आश्रम संचालक समितिले श्रीमद्भागवत पुराणको आयोजना गरी एक कोठाको भौतिक संरचना निर्माण गरिएको थियो । त्यसपछि सहयोगी ९ परिवारले एक–एक वटा कोठा बनाइदिए । त्यसैगरी उर्लाबारी–४ का खगेन्द्र राई र श्याम राईको सक्रियतामा ८ जनाको संयुक्त लगानीमा दुई कोठे भवन निर्माण गरिएको थियो । २०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मीनाले ७ जना असहाय बालबालिका तथा दुई जना वृद्धवृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण गर्न थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका एवं वृद्धवृद्धाहरूलाई राख्न थालियो ।
त्यसपछि असहाय बालबालिका एवं वृद्धवृद्धा थपिन थाले । हाल मेचीदेखि महाकालीसम्मका २२ जिल्लाका ४७ जना बालबालिका बालगृहमा छन् । मीनाले थालेको यो अभियानमा स्थानीय महिला नेतृहरू भागीरथा अधिकारी, सीतादेवी निरौला, अतिहीरा राई, हीरादेवी राई, चन्द्रकला गौतम, सुशीला थापा, कविता थापा, देवका खनाल, मीनादेवी कार्की, लक्ष्मीदेवी सुब्बा तथा रामप्यारी तामाङले सुरुवाती चरणमा साथ दिएका थिए । महिलाहरूले मात्र सुरुवात गरेको आश्रमबाट वृद्धवृद्धाहरूको उचित व्यवस्थापनसँगै नमूना बालगृहको अवधारणामा कार्य संचालन गरियो । महिलाहरूको अगुवाइमा थालिएको यो सामाजिक अभियानमा २०६५ सालदेखि पुरुषहरू पनि सहभागी हुँदै आएका छन् । यो बालगृहको संचालक समितिमा महिलाको ६० प्रतिशत तथा पुरुषको ४० प्रतिशत प्रतिनिधित्व छ ।
बालगृहको अध्यक्षमा स्वयं मीना छिन् भने उपाध्यक्षमा भागीरथा अधिकारी छिन् । यही गृहकी एक बालिकाको नामबाट यो आश्रमको नाम नमूना बालगृह राखिएको हो । बालगृह संचालन गर्न वार्षिक २० लाख रुपैयाँ खर्च हुन्छ । खानपान, स्वास्थ्योपचार, शिक्षा, शैक्षिक सामग्री, लत्ताकपडा आदिमा मासिक १ लाख ५० हजारभन्दा बढी खर्च हुन्छ । यहाँको खर्च सहयोगी, दाता तथा ऋणकै भरमा चलिरहेको छ । संस्थापक अध्यक्ष मीनाले गृहलाई आफ्नो सम्पत्ति बिक्री गरेर प्राप्त भएको ७० लाख रुपैंयाँ प्रदान गरेकी छिन् । अध्यक्ष मीनाले प्रदान गरेको र गृहको अक्षयकोषमा रहेको रकमले उर्लाबारी–७ को वैशाबारीमा १ बिघा ५ कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमूना कृषि फार्म दर्ता गरी संचालन गर्ने प्रक्रिया अघि बढाइएको छ । बालगृहमा रहेका चार जना कृषि विषय लिएर अध्ययन गरिरहेका छन् । अन्य बालबालिका निजी, सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् ।
पीडैपीडा सहेकी मिना
विवाह के हो भन्ने नै थाहा नभएको उमेरमा विवाह भयो मीनाको । ०२२ सालमा उनको विवाह हुँदा उनी १० वर्षकी मात्र थिइन् ।
पहाडको ठाउँ, भौगोलिक हिसाबले विकट, परम्परागत कुरीतिले गाँजेको समाज, महिलालाई हेर्ने र व्यवहार गर्ने तरिकामा पुरातन सोच र शैली त्यस बेलाका नियति थिए । विवाह भएपछि अन्य महिला जस्तै उनले पनि दुःख र पीडाका धेरै पहाड बोकिन् । पढ्ने र लाऊँलाऊँ खाऊँखाऊँको उमेरमा विवाह गरेर उनले धेरै संघर्ष गरिन् तर उनको वैवाहिक जीवन सफल हुन सकेन । उनी अर्थात मोरङ उर्लाबारीकी मीना बराल आफूले सानैमा विवाह गर्दा भोगेका पीडालाई सम्झिएर स्तब्ध बन्छिन् । उनको कामना छ, समाजमा महिलाले भोग्नुपरेका यावत दुःख र पीडाबाट मुक्ति होस् ।
उनले समाजमा अनेकौँ समस्या देखिन्, भोगिन् । अनेक समस्याबाट मानिस पीडित छ । भोलिका कर्णधार बालबालिका सडकमा यसै भौँतारिएका छन् । कोही कसैले उनीहरूप्रति दया, माया र संवेदना देखाउँदैन । यस्ता घटना र दृष्यले उनले एउटा अठोट गरिन्, अनाथ बालबालिकाको उद्धार गर्ने, उनीहरूलाई शिक्षादीक्षा दिएर असल नागरिक बनाउने ।
यही उद्देश्यले २०५७ सालदेखि उनको सोचमा उर्लाबारीमा बाल आश्रम स्थापना भयो । सुरुमा सात जना अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको उक्त बालगृहमा अहिले ४६ जना बालबालिका आश्रित छन् । ‘ताप्लेजुङको ग्रामीण भेग सावदेनमा सानै उमेरमा विवाह गर्दा धेरै पीडा भोगेँ । १० वर्षको उमेरमा विवाह गर्दा केही जानेकी थिइनँ’, मीना भन्छिन्, ‘पढ्ने उमेरमा विवाह भयो, श्रीमानको घर पनि त्यस्तै प¥यो । धेरै संघर्ष गर्दा पनि घर बस्न सकेन ।’
लामो समयसम्म संघर्ष गर्दा पनि श्रीमानले दुई जना सौता थपेपछि श्रीमानलाई छोडेर समाज सेवामा लागेको बताउँछिन् उनी ।भन्छिन्, ‘२०३५ सालदेखि नै समाज सेवामा लागेकी हुँ, त्यतिबेला महिलाको क्षेत्रमा काम गर्थें ।’ उनका बुबाआमा सम्पन्न भए पनि उनले आफ्नो पढ्ने उमेरमा विवाह गरेकाले बुबाआमासँग बस्न उचित ठानिनन् । त्यसैले उनले आफ्नो जीवन समाज सेवामा समर्पित गर्नेतर्फ लागिन् । मीनाले बालगृह सञ्चालन गर्नुअघि महिलाका लागि सहकारी संस्था खोलिन् र पछि त्यसलाई बचत तथा ऋण सहकारीका रूपमा उर्लाबारीमा स्थापित गरिन् । त्यसपछि उनले महिलाका लागि काम गर्ने धेरै सामाजिक संघसंस्था भएको भन्दै बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था स्थापना गर्ने सोच बनाइन् । उनले २०७१ सालमा नेपाल सरकारले वितरण गर्ने सामाजिक सेवा पुरस्कारसमेत पाइसकेकी छन् ।
पश्चिम कर्णालीदेखि पूर्वको ताप्लेजुङसम्मका बालबालिका बालगृहमा
नमुना बालगृहमा अहिले पश्चिम नेपालको कर्णालीदेखि पूर्वको ताप्लेजुङसम्मका विभिन्न २२ जिल्लाका ४६ जना बालबालिका बस्दै आएका छन् ।
बालगृहमा दुई जना चेपाङ जातिका बालबालिकादेखि लोपोन्मुख सन्थाल जातिकासमेत गरी १५ जातजातिका बालबालिका बस्दै आएका छन् । उक्त बालगृहमा बाबुआमा नभएर बेसहारा भएका बालबालिकालाई राखिएको मीना बताउँछिन् । ‘यहाँ बेसहारा बालबालिका छन्, उनीहरूको दुःख देखेर हामीले ल्याएका हौँ’, उनी भन्छिन्, ‘कतिले खाना खान पाएका थिएनन्, कति भौँतारिइरहेका थिए ।’ कतिका बुबाआमाको मृत्यु भइसकेको र कतिका बेपत्ता भएको उनले बताइन् ।
शिक्षामा कमी हुन दिएन बालगृहले

बालगृहमा रहेका सबै बालबालिकालाई बालगृहले नै पढाइरहेको छ । अरूसँग सहयोग मागेर भए पनि बालबालिकाको पठनपाठनमा असर नपरेको मीना बताउँछिन् । उनी भन्छिन्, ‘विद्यालयले हाम्रा लागि ठूलो सहयोग गरेको छ ।’
त्यहाँ रहेकामध्ये आधा दर्जन बढीले कक्षा १२ सकिसकेका छन् । नौ जना नजिकैको बोर्डिङ स्कुलमा अध्ययनरत छन् भने अन्य सरकारी विद्यालयमा अध्ययन गर्छन् । उनीहरूको शिक्षा विद्यालयले निःशुल्क गरिदिएको मीना बताउँछिन् । ‘विद्यालयले शिक्षा त निःशुल्क गरिदिएको छ, तर उनीहरूका लागि चाहिने झोला, कपी जस्ता सामग्रीमा धेरै समस्या छ’, मीना भन्छिन्, ‘उनीहरूले भनेजस्तो दिन सकेको छैन, कहिलेकाहीँ त उनीहरूको अवस्था देखेर रुन मन लाग्छ ।’
तर उनलाई यत्तिका अनाथ बालबालिकालाई हेरचाह गर्दा र उनीहरूलाई असल नागिरक बनाउन प्रयास गर्दा निकै सन्तुष्टि प्राप्त भएको छ रे ।
सहयोगकै भरमा बालगृह
यो बालगृहको अहिलेसम्म आफ्नो दिगो आयस्रोत केही पनि नभएको मीना बताउँछिन् । बालगृह अहिलेसम्म दाताहरूको सहयोगमा चलिरहेको छ । उनी भन्छिन्, ‘हामीसँग अहिलेसम्म दिगो आयस्रोत केही छैन, अर्काको सहयोगकै भरमा चल्नुपर्ने अवस्था छ ।’ दाताहरूले पनि कहिलेसम्म सहयोग गर्लान भन्ने लागेको छ उनलाई । पहिला पहिला प्रत्येक घरमा वर्षमा एक पटक धान माग्न गएर बालगृह चलाउनुपरेको उनले बताइन् । ‘पहिला त लाजै पचाएर माग्न जानुपथ्र्यो, अहिलेचाहिँ केही दाताहरूले दान गर्नुभएको छ’, उनी भन्छिन्, ‘खानलाई चाहिँ पुगेको छ ।’
विभेदरहित बालगृह
समाजमा जातीय विभेद कायम रहिरहेका बेला यो बालगृहमा भने विभेद छैन । यहाँ रहेका सबै जातजातिका बालबालिकाले आफूहरू एक भएको महसुस गर्न पाएका छन् । मीना भन्छिन्, ‘यहाँ विभेद छैन, हामीले यहाँ रहेका बालबालिकालाई उनीहरूको परिवारको विषयमा र जातको विषयमा भरसक जानकारी दिने गरेका छैनौँ ।’ उनले बाहिरबाट आउने मान्छेहरूलाई समेत बालबालिकाको थर सोध्न निषेध गरिएको बताइन् ।
जन्मदिन मनाउन आउनेले दिन्छन् धेरै सहयोग

पछिल्लो समय बालगृहमा जन्मदिन र चाड पर्व मनाउन आउनेको संख्या बढ्दै गएको उनी बताउँछिन् । महिनामा तीन जनासम्मले जन्मदिन मनाउन यहाँ आउने गरेका उनले बताइन् । यहाँ आउनेहरूले आफूले सक्ने सहयोग गर्दै आएका र सोही सहयोगले धेरै धानेको मीना बताउँछिन् । जन्मदिन मनाउन आउनेहरू धेरैजसो पश्चिमी झापाका रहेको उनले बताइन् ।
बालबालिकामा प्रतिभा छ, बाहिर ल्याउन खर्च छैन

यहाँ रहेका धेरैजसो बालबालिकामा आ–आफ्नै प्रतिभा छ । तर उनीहरूको प्रतिभालाई प्रशिक्षणको अवश्यकता रहेको मीनाको भनाइ छ । यहाँ रहेका बालबालिका कोही गाउन सक्छन्, कोही राम्रो नाच्न सक्छन्, कोही राम्रो चित्र बनाउँछन् । कोही राम्रो फुटबल खेल्न सक्छन् । मीना भन्छिन्, ‘सबै नानीहरूमा प्रतिभा छ, तर उनीहरूलाई प्रशिक्षणको खाँचो छ, प्रशिक्षण दिनका लागि हामीसँग पैसा छैन ।’ कसैले उनीहरूका लागि एक जना प्रशिक्षकको सहयोग गरे पनि धेरै हदसम्म सहयोग मिल्ने मीनाले बताइन् ।
बालगृह सञ्चालनमा आफूहरूसँग दिगो आयस्रोत नभएकाले उनले सबैसँग सहयोगको याचना गरिन् । उनले भनिन्, ‘हामी सबैलाई सहयोग गर्न आग्रह गर्छौं, यी बालबालिलाको सुनौलो भविष्यका लागि ।’ उनले बालगृहमा जस्तो पनि सहयोग गर्न सकिने बताइन् । ‘कसैले बालगृह सञ्चालनका लागि कोष नै स्थापना गरिदिए हामीलाई केही सहज हुने थियो’, मीनाने भनिन् ।
१ रुपैंयाँबाट १ करोड
नमूना बालगृहको दिगो आर्थिक स्रोत नहुँदा दाताकै भर पर्नुपर्ने अवस्था छ । त्यसलाई परिपूर्ति गर्न अहिले ‘१ रुपैंयाँबाट १ करोड’ भन्ने अभियान चलाइएको छ । ८ हजार ५ सय दाताबाट दैनिक १ रुपैंयाँको दरले पाँच वर्षसम्म सहयोग संकलन गर्दा डेढ करोड रुपैयाँ जम्मा हुन्छ । त्यति रकम अक्षय कोषमा जम्मा गर्न सके संस्था संचालन गर्न त्यति समस्या हुँदैन ।
यी हुन्, बालगृहका सारथी
नमूना बालगृहकी अध्यक्ष मीनापछि बालबालिकाको संरक्षणमा खटिने अर्की महिला हुन्–सुशीला थापा । बालबालिकाले थापालाई ‘सुशीला ममी’ भनेर सम्बोधन गर्छन् । सुशीलाका श्रीमान् विमल थापा पनि बालगृहमै समर्पित छन् । थापा भन्छन्–‘यहाँका बालबालिकाहरू भविष्यमा असल नागरिक बनेर राष्ट्रको सेवा गरूज् भन्ने हाम्रो चाहना छ।’ सुशीला र विमलसँगै बालगृहका बालबालिकाहरूको संरक्षणमा तेजबहादुर घिमिरे –जीवन), प्रह्लाद थापा, माया शेर्पा, कला दाहाल आदि पनि समर्पित छन् ।
प्रदेश सांसद भन्छन्,
मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद कुलप्रसाद साम्बा (लिम्बू) भन्छन्–नमूना बालगृह प्रदेश नम्बर १ कै सम्पत्ति हो । बालगृहको संरक्षण, प्रगति एवं उन्नतिका लागि प्रदेश सरकारसँग कुरा गरिरहेको छु । सामान्यतया १–२ जना छोराछोरीको आधारभूत आवश्यकता पूरा गर्न कठिन हुने वर्तमान अवस्थामा मेचीदेखि महाकालीसम्मका ४६ जना अनाथ बालबालिकाको संरक्षण गरी पालनपोषण गर्नु चानचुने कुरा होइन । बालगृहका बालबालिकाको भविष्य निर्माण गर्न सबैको साथ र सहयोग आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय