
उर्लाबारी/मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा समस्याको चाङहरु थुप्रिएका छन् ।
सो अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मी छैनन्, बिग्रिएको एक्स रे मेसिन अहिलेसम्म बनाइएको छैन,
प्रदेश सरकारबाट रकम प्राप्त नभएका कारण आर्थिक अभाव खड्कीदै गएको छ । ट्रमा सेन्टर हो कि हेल्थ पोष्ट हो ? छुट्याउन अहिले गाह्रो भएको छ । सरकारले निशुल्क दिने औषधिहरु पर्याप्त मात्रामा छैनन् । पोष्टमार्टम, बेबारिसे लास तथा बेबारिसे बिरामीको व्यवस्थापनमा समेत समस्या रहेको चिकित्सकहरुको भनाई छ । बिरामीको चाप दिनदिनै अत्याधिक बढिरहँदा स्वास्थ्यकर्मीको आवश्यकता महशुस भएता पनि सरकारले नपठाई दिंदा सेवाग्राही मार्कामा परेको स्थानीयहरु बताउँछन् ।
छ जना एमडी, चार जना एमबीबीएस डाक्टर आवश्यक भए पनि अहिले दुई जना एमडी र दुई जना एमबीबीएस डाक्टरका भरमा अस्पताल चलिरहेको छ । पूर्वी मोरङका उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, रतुवामाई र मिक्लाजुङ, कानेपोखरी लगायतबाट हजारौँ बिरामीको उपचार गर्दै आएको उक्त ट्रमा सेन्टरको सीआर एक्सरे मेसिन बिग्रिएर बसेको चार महिना बित्यो तर बनाउन नसकिएको चिकित्सकहरुको भनाई छ । रकम अभावकै कारण मेसिन बनाउन मुस्किल परेको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
मेसिन बनाउन ६ लाख रुपैयाँ भन्दा बढी खर्च लागत लाग्छ, काठमाडौं लानु पर्छ, पैसा छैन, नयाँ समिति आएको छ, अब के गर्छ ? चिकित्सकहरुको भनाई छ । अस्पताल सुधारका लागि प्रदेश सरकार समक्ष तत्कालीन व्यवस्थापन समितिले १५ करोड रकम माग
गरेपनि अहिलेसम्म प्राप्त नभएको चिकित्सकहरु बताउँछन् । स्वास्थ्य उपचारमा आउनेबाट ओपीडी शुल्क जम्मा भएको रकमबाट सामान्य रुपमा अस्पताल सञ्चालन हुँदै आएको छ ।
स्वास्थ्य बीमा सम्बन्धीसमेत काम गर्दै आएको उक्त ट्रमा सेन्टरमा दिनहुँ गर्भवती, घाउ चोटपटक,सवारी दुर्घटनामा परेका बेबारिसे लास र बिरामीको चाप अत्याधिक रहँदा थाम्न गाह्रो हुने गरेको स्वास्थ्यकर्मी निराजन पौडेलले जानकारी दिएका छन् । करोडौंको नयाँ भवनमा समेत सेवा दिँदै आएको सो ट्रमा सेन्टरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आर्थिक, प्राविधिक र विशेषज्ञ सेवा प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनु पर्ने मंगलबारेवासीको भनाई छ ।
प्रदेश सरकारले गत जेठमा सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा मंगलबारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर कायम गरी प्रदेश सरकार मातहतमा लाने निर्णय गरेपछि नामाकरणको विषयमा आन्दोलन समेत भएको थियो ।
यसैबीच, मदन भण्डारी भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको पहिलो बैठक यसैसाता बसेको छ । बैठकमा अस्पतालको विकासका विषयमा छलफल पनि भएको छ । उक्त बैठकले उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको संयोजकत्वमा ७ सदस्यीय अस्पताल सञ्चालनको चुनौती र भावी योजना तयार पार्न कार्यदल पनि गठन गरेको छ । यसै बिषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलसँगै सम्पर्क गर्दा अस्पतालमा भएका समस्या समाधान गर्नका लागि प्रारम्भिक कार्य सुरु भईसकेको बताएका छन् । उनले उक्त अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ छुट्याएको, आफूले २ करोडको स्रोत खोजेको र उर्लाबारी नगरापालिकाले पनि करीब १ करोड रुपैयाँ व्यवस्थापन गर्ने जानकारी दिएका छन् ।