युवा ब्यवसायी नुतन राई (पिके) उर्लाबारी उद्योग वाणिज्य संघको आसन्न चुनावमा महासचिब पदको उम्मेद्वार हुनुहुन्छ । संघप्रति आम व्यवसायीको विश्वास घट्दै गइरहेको बेलामा कुनै प्यानलमा नलागी स्वतन्त्र उम्मेद्वार बनेको बताउनु हुने उहाँसँगको कुराकानी प्रस्तुत छ–
तपाईले स्वतन्त्र उम्मेद्वार घोषणा गर्नुभएको छ । खास कुरा के हो ?
–म सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुको प्रतिनिधित्व गर्ने साझा उम्मेद्वार हुँ । उर्लाबारी उद्योग वाणिज्य संघ भनेको उद्योगी व्यापारीहरुको व्यावसायिक हकहितका लागि नेतृत्व गर्ने संस्था हो । व्यवसायीहरुको हितका लागि लड्ने एजेन्डा बोकेर महासचिब पदमा उम्मेद्वार बनेको छु । म सबै उद्योगी तथा ब्यवसायीहरुको साझा उम्मेद्वार हुँ ।
किन महासचिबमै उठ्नुभयो ? अध्यक्ष नै उठेको भए हुँदैनथ्यो र ?
–अध्यक्ष उठ्दा पनि हुन्थ्यो । म कार्यसमिति सदस्य हुँदै यस पटक महासचिबमा प्रतिष्पर्धा गर्दैछु । अर्को कुरा आम उद्योग तथा ब्यवसायीहरुको हितमा काम गर्न सके भने त्यो समय पनि कुनै दिन आउनेछ । त्यसलै पद ओगट्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई कार्य सम्पादन गर्ने कुरा पनि महत्वपूर्ण हुनेछ । यसअर्थमा पनि म महासचिबमा रहेर उद्योगी तथा ब्यवसायी ज्यूहरुको पक्षमा काम गर्न सक्छु भन्ने आँट लिएर उम्मेद्वार बनेको छु । सबैको साथ र सहयोग रहने अपेक्षा पनि गर्दछु ।
तपाईको चुनावी प्रतिवद्धता के हो ?
–वाणिज्य संघमा राजनीति घुसेपछि त्यसले व्यवसायीको हितमा काम गर्न सक्दैन भन्ने कुरा पटकपटक प्रमाणित भइसकेको छ । यसअघिको संघका पदाधिकारीहरुले कोरोना महामारीमा तड्पिएका व्यवसायीहरुको पक्षमा केही काम गर्नु भएन । चुइक्क बोल्नु भएन । करोडौं लगानी व्यवसाय गरिएको छ । व्यवसायको मुद्दामा संघले कुनै आवाज उठाएको पाइँदैन । बैंकको नाफा बढ्दै जाने तर व्यवसायीहरुको घाटा बढेर आत्महत्या गर्नुपर्ने स्थिति छ । यस्तो बेथितिको अन्त्य गर्ने र व्यवसायीहरुको हितमा राजनीतिक स्वार्थभन्दा अलग बसेर सेवा गर्नेछु । बैंकको व्याज बढेर दोहोरो अंकमा पुगेको छ । व्यवसायीले आत्महत्या गरिरहेका छन् । मेरो मुख्य मुद्दा यो हो । राजनीतिकरण गर्नहुँदैन संघमा । राजनीति गर्ने ठाउँ अन्तै छ । वाणिज्य संघले हकहितमा बोल्न छाडेको हुँदा व्यवसायीहरु रिन्यु गर्न आउन छाडे । म व्यवसायीहरुको आत्मविश्वास बढाउँछु । उनीहरुलाई यो संघ भनेको व्यवसायीहरुको आफ्नै संस्था हो भनेर चिनाउँछु ।
आफुलाई कसरी चिनाउनु चाहनुहुन्छ ?
–व्यक्तिगत स्वार्थ नराख्ने र समस्यामा परेका व्यवसायीको पक्षमा उभिने एउटा सचेत व्यवसायीको रुपमा म आफुलाई चिनाउन चाहन्छु । म जस्तै व्यवसायीमा सानो वा ठूलो लगानी गर्नुभएको तर राज्यको गलत नीति र परिस्थितिका कारण रुनु न हाँस्नुको अवस्था भोगिरहनु भएको आम व्यवसायीहरुको नेतृत्व गर्छु भन्ने आँट, सोच र भिजन बोकेर महासचिब पदको उम्मेद्वार बनेको छु ।
चुनाव जित्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
–पार्टीभन्दा माथि उठेर मलाई सबै व्यवसायीहरुले मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु । उम्मेद्वारको प्यानल होला, भोटरको प्यानल हुँदैन । राजनीतिक रुपमा जो जता लागे पनि मलाई भोट आउँछ । म जित्छु ।