उर्लाबारी । भदौंमा हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा तारामान सेरेङ र विनोद न्यौपानेको मुख्य प्रतिष्पर्धा हुने अड्कलबाजी गरिएको छ ।
दुबै नेपाली कांग्रेसनिकट ब्यवसायी भएपनि सेरेङलाई कांग्रेस उर्लाबारीले संघको अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ भने न्यौपाने स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा रहेको बुझिएको छ । सरकारमा कांग्रेस–एमालेको गठबन्धन बनेकाले यहाँ पनि सोही गठबन्धन हुन सक्ने सम्भावना पनि छ । तर, आधिकारीक रुपमा यसको निर्णय भएको छैन ।
एमालेले अहिलेसम्म उम्मेद्वारको विषयमा कुनै निर्णय गरेको छैन । संघमा एमाले सर्मथक ब्यवसायीहरुको पनि निकै पकड रहेको छ । त्यसकारण पनि एमाले निर्णायक शक्ति मानिन्छ । जानकार स्रोतका अनुसार एमालेले उर्लाबारी उद्योग बाणिज्य संघ कांग्रेसलाई छोडेर उर्लाबारी बहुमुखी क्याम्पसमा अध्यक्ष लिने विषयमा पनि छलफल अघि बढाएको छ । त्यसो हुन नसके एमाले स्वतन्त्र उम्मेद्वार न्यौपानेलाई पनि समर्थन गर्ने सम्भावना रहेको बुझिएको छ । यी दुई विषयवाहेक राम थापालगायतलाई अध्यक्षमा एमाले अघि सार्ने सम्भावना पनि उत्तिकै मात्रामा रहेको छ । एमाले समर्थक चन्द्रबहादुर भट्टराई (भरत) पनि अध्यक्षको उम्मेद्वार बन्न सक्ने अड्कल गरिएको छ । यसअघि अध्यक्ष भइसकेका भट्टराईले फेरि अध्यक्षमा आकांक्षा राखेको बुझिएको छ ।
यता नेकपा माओवादी केन्द्रनिकट व्यवसायीहरुले ब्यापार संघमा राजनीतिभन्दा माथि उठेर अघि बढ्नु पर्ने धारणा राखिरहेका छन् । संघको बरिष्ठ उपाध्यक्ष यामलाल रसाइली माओवादी टिकट ब्यवसायी हुनुहुन्छ । उहाँले यस पटक कुनै पदमा नउठ्ने बताइसक्नुभएको छ । त्यसैकारण पनि यस पटक माओवादीले स्वतन्त्र उम्मेद्वारसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको छ । न्यौपानेले अध्यक्षमा स्वतन्त्र उम्मेद्वार दिएको खण्डमा उहाँलाई नै समर्थन गरेर अन्य पदमा आफ्ना ब्यवसायीहरुलाई अघि सार्ने माओवादीको तयारी रहेको छ । तर, यसको आधिकारीक निर्णय भने भएको छैन । यस पटक स्वतन्त्र टिम नै बनाएर अघि बढ्ने सम्भावना उत्तिकै मात्रामा रहेको छ ।
राप्रपालगायतको पनि संघको निर्वाचनमा महत्वपूर्ण भूमिका रहने निश्चित छ । केही युवाहरुले उम्मेद्वारी घोषणासँगै चुनाबी सरगर्मी बढेको छ । उर्लाबारी–७ का ब्यवसायी दशरथ यादब (बेचन) र दिपक कार्कीले उम्मेद्वारी घोषणा गरिसकेका छन् । यादबले कोषाध्यक्ष र कार्कीले सदस्यमा उम्मेद्वार दिने भएका छन् । उनीहरु कुन प्यानलबाट उठ्छन् त्यो भने टुंगो छैन । यता उर्लाबारीका युवा ब्यवसायी नुतन राईले महासचिबमा उम्मेद्वारी दिने मनसाय बनाएका छन् । वर्तमान सदस्यसमेत रहेका राईले संघमा भएका बेतिथिका बारेमा खरो रुपमा प्रतिवाद गर्दै अघि बढेका कारण पनि ब्यवसायीहरुको रोजाईमा पर्न सक्ने देखिन्छ । उनले स्वतन्त्र उम्मेद्वारी दिने सम्भावना छ ।
त्यस्तै, उर्लाबारीका युवा ब्यवसायी ज्ञानु श्रेष्ठ पनि बरिष्ठ उपाध्यक्ष बन्ने लाइनमा छन् । सुनचाँदी ब्यवसायी संघको अध्यक्ष भई काम गरिसक्नु भएका श्रेष्ठ बलियो उम्मेद्वार रुपमा हेरिएको छ । उहाँ कांग्रेसनिकट ब्यवसायी हुनुहुन्छ । उहाँले तारामान सेरेङको नेतृत्व टिमबाटै टिकट पाउने सम्भावना छ । त्यसो नभए उहाँको पनि स्वतन्त्र टिमबाट उम्मेद्वार रहन सक्ने देखिएको छ ।
ADVERTISEMENT