
विराटनगर । सुनसरीको दुहवी नगरपालिका–२ का एक युवकको हत्या आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । सोमबार बिहान युवकको शव दुहवी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा मृत फेला परेका १७ वर्षीय सुजननारायण चौधरीको हत्या आरोपमा छिमेकी २० वर्षीय सुमन झा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ परेका युवकले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । शव भेटिएको स्थानबाट मृतक र हत्या आरोपीको घर नजिकै छ । मृतक युवक १० मंसिरयता बेपत्ता थिए ।
युवक सम्पर्कविहीन भएकै दिन उनको हत्या भएको देखिएको छ । घरबाट गएको दिन बेलुका आमाले फोन गर्दा मृतकले नजिकै छु, केही समयपछि आउँछु भनेकोमा उनी बेपत्ता भएका थिए । प्रहरीका अनुसार सोहि दिन ८ बजे फोन गर्दा ‘तेरो छोरा मेरो कब्जामा छ’ भनेर सुमनले भनेको देखिएको छ ।
शुभलक्ष्मी उद्योगपछाडि रहेको खाली ठाउँमा हत्या गरी युवकले शव झाडीमा लुकाएर अपहरण गरेको बताएका थिए । हत्यापछि घर आएका युवकले भोलिपल्ट बिहान पनि आफूले अपहरण गरेको भन्दै परिवारलाई म्यासेज पठाएका थिए । घटनालाई डाइभर्ट गर्न अपहरण गरेको म्यासेज पठाएको देखिएको प्रहरीले जनाएको छ ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा उनी हराएको चार दिनपछि शव भेटिएको भिनाजु हुलासचन्द चौधरीले जानकारी दिनुभयो । ‘सालोको मोवाइलमा एकपटक फोन सम्पर्क हुँदा उत्ताबाट सुरज हाम्रो कब्जामा छ भनेर अज्ञात समूहले भनेको थियो,’ मृतकका भिनाजु हुलासचन्दले हाम्रोमतसँग भन्नुभयो, ‘त्यस यतादेखि फोन अफ भयो ।’ परिवारले दिएको जानकारी अनुसार अपहरणकारीले फिरौति रकम भने मागेका थिएनन् ।
बुधबारबाट छोरा बेपत्ता भएपछि बुबा सुरेन्द्रनारायण चौधरीले बिहीबार छोरा खोजिदिन भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए । लगत्तै अुनसन्धान सुरु गरेको प्रहरीले आइतबार राति झालाई पक्राउ गरेको थियो । पक्राउ परेका झाले आफूलाई होच्याएका कारण हत्या गरेको बयान दिएका छन् ।
केही दिन अगाडि लागेको मेला र सार्वजानिक ठाउँमा चौधरीले अपशब्द प्रयोग गर्दै बेइज्जत गरिदिएको कारणले त्यसको रिस फेर्न हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसरी गरे सुजनको हत्या
सुजन मंसिर ११ गते साँझ घरबाट साथीकोमा जान्छु भनेर हिँडेको दिन नै सुमनले हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताउनुभयो । साँझको साढे ६ बजेपछि उनीहरूबीच विगतका भएको कुरालाई लिएर भनाभन भएको र सुमनले कुटपिट गरेका थिए ।
प्रहरीका अनुसार कुटपिटबाट सुजन खाली चौरमा रहेको ढुंगामा लडे । भुईमा लडाएर सुमनले सुजनको घाँटी थिचे । रिसको आवेगमा आएर सुजनको घाँटी थिचेर हत्या गरेको प्रहरीसँगको बयानको क्रममा स्वीकार गरेका छन् । हत्या गरेपछि खाली चौरमा झाडीभित्र फालिदिएर सुमन आफ्नो घरतर्फ लागेका थिए ।
हत्या गरेपछि सुमन मंसिर ११ गते विहान सबेरै उठेर घटना स्थलमा पुगेर सुजनको शव हेरेका थिए । ‘हत्या गरेपछि भोलिपल्ट शव हेर्न सुमन घारीमा पुगेको बयानको क्रममा भनेका छन्’ प्रहरी स्रोतले भन्यो, ‘घारीभित्र मृत अवस्थामा कसैले नदेख्ने ठाउँमा शव रहेको देखेपछि त्यहाँबाट घरतर्फ लागे ।’
सुजनको हत्या गरेपछि सुमनले घटना लुकाउन अपहरणको नाटक गरेको सुनसरी प्रहरी प्रमुख एसपी थापाले बताउनुभयो । घटनालाई मोड्न सुमनले निक्कै चलाखी गरेका थिए ।
घटनाको चार दिनपछि अभियुक्त पक्राउ
मृतक सुजनको मोवाइल र ट्याब हत्या आरोपी सुमनको घरमा फेला परेपछि प्रहरीले हत्या भएको चार दिनपछि आइतबार राति उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि सुरुमा सुमनले हत्या अस्वीकार गरेपनि उनले घटना स्वीकार गरेर सोमबार बिहान शव देखाईदिएका थिए ।
सुनसरी प्रहरी प्रमुख एसपी थापाका अनुसार पक्राउ परेका झालाई सुनसरी अदालतमा सोमबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । सुरेन्द्रबहादुर र रूपमणि चौधरीका एक मात्र छोरा सुरज इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।