उर्लाबारी।शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले उर्लाबारी नगरपालिकामा नगर प्रमुख खड्ग फागोलाई आगामी स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हबाट नगर प्रमुख पदमा उठ्न आग्रह गरेका छन् ।
मंगलबार दिउँसो उर्लाबारी नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीति ब्यक्तिगत स्वार्थ भन्दा पनि जनताको हितमा हुनुपर्ने भन्दै सो कुरा बताएका हुन् । उनले उर्लाबारी नगरपालिकाको नगर प्रमुख आगामी निर्वाचनबाट पनि यूवा नै निर्वाचित हुनुपर्ने बताउँदै वर्तमान नगरप्रमुख फागोलाई सूर्य चिन्हबाट चुनावमा उठ्न आग्रह गरेका छन् । नगरप्रमुख फागो हाल नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । उनी नेपाली काँग्रेसका मोरङको १ नं. क्षेत्रीय सभापति रहेका छन् ।
राजनीति जनताका लागि गर्ने हो भन्दै मन्त्री श्रेष्ठले काँग्रेस प्रजातन्त्रको विचार लिएर अघि बढेपनि सर्वाेच्च नेता गणेशमान सिंहले अन्तिममा निधन हुने बेलामा पार्टीको झण्डा नओढाउनु भनेको स्मरण गराएका छन् । उनले कुनै पनि पार्टीबाट निर्वाचित भईसकेपछि जनताको हितमा काम गर्नुपर्ने बताएका छन् ।
देश विकास गर्ने अहिलेको समयमा कुर्सी जोगाउने खेलमा कोही पनि लाग्न नहुने उनको भनाई छ । सो अवसरमा नगरपालिकाका नगर प्रमुख फागोले उर्लाबारीको ढल निकास, अव्यवस्थित बसोबास लगायतका समस्याका विषयमा मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मन्त्री श्रेष्ठ उर्लाबारी ८ मा सन्थाल बस्ती निर्माणका लागि स्थलगत अबलोकनका लागि आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय