पथरी / मोरङको पथरी गाउँविकास समितिका पहिलो अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरसका कारण आज विहान निधन भएको छ ।
२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित सामाजिक अगुवा ६६ वर्षीय राईको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

सामाजिक काममा लोकप्रियता हाँसिल गर्नुभएका राईले हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी मनकामना सहकारीका संस्थापक अध्यक्ष, पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्ष सहित दर्जनौं संघ संस्थाको अगुवाई गर्नुभएको थियो ।

उहाँको निधनप्रति पथरीशनिश्चरे नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरले एउटा असल सामाजिक अभिभावक गुमाएको भन्दै गहिरो दुःख सहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

पथरीशनिश्चरे १ पथरी बजार निवासी उहाँलाई कार्तिक २१ गते कोरोना पोजेटिभ देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः स्वास प्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि विराट मेडिकल कलेजमा ५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा निधन भएको उहाँका छोरा दीपक राईले जनाउनु भयो । वान्तवाका १ श्रीमती, ४ छोरी र २ छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय