काठमाडौं । सरकारले बलात्कारसम्बन्धी नयाँ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बलात्कारको परिभाषा नै संशोधन गरेर सिफारिस गरिएको नयाँ अध्यादेशले महिलामात्रै बलात्कृत हुन नसक्ने भन्दै ‘जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ’ भन्ने औंल्याएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतको भनाइ छ । बलात्कारको परिभाषालाई संशोधन अध्यादेशमा जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भन्ने प्रष्ट पारिएको स्रोतको दाबी छ ।

यसअघि मुलुकी अपराध संहितामा महिला मात्र बलात्कृत हुन सक्ने गरी बलात्कारको परिभाषा गरिएको छ ।

यस्तै बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेशमार्फत कानूनी व्यवस्था गर्ने भएको छ । अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध किटान गरिएको छ ।

साथै कुनै नाबालिगमाथि बलात्कार वा बलात्कार प्रयास भएर पनि कसैले उजुरी नगरेको अवस्थामा पीडित व्यक्ति साबालिग भएको १ वर्षभित्र उजुरी दिए कानूनी प्रक्रिया अगाडि बढाई कारवाही गर्नसक्ने व्यवस्था पनि नयाँ अध्यादेशमा उल्लेख भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय