
उर्लाबारी । अन्ततः उर्लावारीवासीको दमकल सपना पुरा हुने चरणमा पुगेको छ । दमकलको टेन्डर लागेसँगै उर्लावारी नगरपालिकाले दमकलका लागि चाहिने आवश्यक जनशक्तिका लागि विज्ञापन खुलाएको छ ।
नगरपालिकाले दमकलका लागि भारी सवारी चालक २ जना र अग्नि नियन्त्रक फायर म्यान ४ जना गरी ६ जनलाई करारमा भर्ना गर्न लागेको हो । सवारी चालकका लागि न्यूनतम योग्यता ८ कक्षा पास र सवारी चालकको अनुमतिपत्र अनिवार्य गरिएको छ ।
अग्निनियन्त्रक फायर म्यानका लागि न्यूनतम योग्ता ८ कक्षा पास तोकिएको छ । यो पदमा जागिर खानका लागि छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्ने छ । यस्तै न्यूनतम तौल ५० कजेी र उचाइ ५।३ फिट तोकिएको छ ।
नगरपालिकाद्वारा जारी सूचनामा सवारी चालकको हकमा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता मार्फत करारमा कर्मचारी नियुक्त हुनेछन् । यस्तै फायर म्यानहरुको छनोट प्रक्रिया शारिरीक तन्दुरुस्ती परीक्षण र सिधै अन्तरवार्ता मार्फत छनोट गरिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । कात्तिक २८ गते खुलाएको यो विज्ञापनको म्याद १५ दिन तोकिएको छ । फाराम भर्न ३ सय रुपैयाँ लाग्ने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।