
हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ।
तिहारको बेला भएको यो ठूलो दुखद घटनाले हङकङका नेपाली स्तब्ध भएका छन्।
मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर उनीहरू अधिकांश बागलुङ जिल्लाका हुन्।
अस्पताल पुर्याइएका १८ जना घाइतेमध्ये सात जनाको मृत्यु भएको हो। दुई जनाको अवस्था अझै गम्भीर छ भने एक जनाको सामान्य अवस्थामामा उपचार भइरहेको छ। एक जना सामान्य उपचारपछि घर फर्केका छन्।
सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव रहेको छ। बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना हुँदा बागलुङका धेरै परेको जनाएका छन्।
बुढाथोकीका अनुसार बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेका हुन्।
‘राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको हो, उनको छोरीको मृत्यु भएको भन्ने खबर छ’, बुढाथोकीले भने।
उनले बागलुङ समाजका कार्यसमिति सदस्य कृष्ण कँडेलको क्वीन एलिजावेथ अस्पतालको आईसीयूमा उपचार भइरहेको बताए।
यमलाल कँडेलले राजको क्वांग वाह अस्पतालमा र उनकी छोरीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको बताए।
हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।
हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गर्दा खसेर घाइते भएका थिए।
अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।