
उर्लाबारी । मोरङको उर्लाबारी–२ मा रहेको प्रस्तावित उर्लाबारी रंगशालामा मदन भण्डारी प्रतिष्ठानले कुनै पनि लगानी नगरेको सालबारी एकता क्लबले प्रष्ट पारेको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष विजय माझीले हालसम्म प्रतिष्ठानले सालबारीको खेलमैदान बनाउन कुनै भूमिका नखेलेको बताउनुभएको हो ।
मदन भण्डारी स्मृति गोल्डकप सञ्चालन हुँदा खेलमैदान सम्याउनेवाहेक अन्य कुनै काम नगरेको उहाँले बताउनुभयो । उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको सहयोगमा वाल लगाउने लगायत कार्य भएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानले खेलमैदान निर्माणमा पहल गरेको बताएपछि क्लबले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ । भ्रमको खेती नगर्न पनि उहाँले प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । क्लबले मंगलबारे युवा क्लबले प्रतिष्ठानले घेरा गरेको क्षेत्रमा खेलमैदान माग्दै गरेको आन्दोलनमा समर्थन गर्दै सक्रिय सहभागीता जनाउने बताएको छ । पत्रकार सम्मेलनमा सालबारी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापा जर्मनलगायतले बोल्नुभएको थियो ।