सुनौलो रेशा अर्थात् “गोल्डेन फाइबर” भनेर चिनिने जुट नेपाली बालबालिकाले बर्तमान समयमा चिन्न समेत छोडेका छन् । ५० को दशकभन्दा अगाडिको समयमा पूर्वी-नेपालको झापा, मोरंग र सुनसरीको तराई क्षेत्र जुट खेतीका लागी प्रसिद्ध थियो। चैत्रमा जुटे छरेपछि बैशाखमा पाटा गोड्न भनेर हुद्दाका हुद्दा भारतीय मजदुरहरु नेपाल छिर्थे। पसनीले माटामा रहेका पटुवा बाहेकका सबै झारहरु झिकेर जुट लगाइएको खेतलाई रहरलाग्दो बनाउथे तर वर्तमान पुस्ता न पाटा जान्दछ न पसनी, न तारी जान्दछ न अमार। एकादेशको कथा जस्तो भएको छ, पूर्वी नेपालको वर्तमान पुस्ता लाई जुट खेती।
नेपालमा औद्योगिक क्रान्ति ल्याउन अग्रणी भूमिका रहेको यो नगदेबाली अहिले दिनानुदिन घट्दो स्थिति मा छ। उष्ण हावापानीमा उत्तम देखिने यो औद्योगिक बाली नेपालको पूर्वी तराई क्षेत्रमा चार दशक अघि बाट निरन्तर लगाईदै आएको भए पनि वर्तमान समयमा झन्नै लोप हुने अवस्थामा पुगेको छ।
औषत वर्षा र मिश्रित माटो उपयुक्त हुने यस बालीबाट मुख्यतय डोरी, झोला, गलैचा, बोरा, कागज लगायत बस्तुहरु उत्पादन गर्न सकिन्छ। साथसाथै घरायसी प्रयोजनका लागी पनि सन्ठी उपयुक्त इन्धन हुन सक्छ।
पूर्वी नेपालका किसानहरुले राम्रो मूल्य नपाएपछि आफूहरुले जुट खेती छोड्दै गएको बताउँछन्
लागत र मेहनत अनुसारको प्रतिफल नपाएपछि किसानहरुको जुट खेतीतर्फ निराश भएका छन्। केही दशकअघिसम्म पूर्वी नेपालमा जुट खेती प्रमुख नगदेबालीको रुपमा रहेको थियो। तर लागत र मेहनत अनुसारको परिणाममा किसानहरु बिस्तारै अरु विकल्प तर्फ मोडिएका छन्। केही वर्षअघिसम्म पूर्वी तराईका झापा, मोरंग, सुनसरी जिल्लामा ६८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा जुट खेती गरिएपनि अहिले मुस्किलले सिङ्गो मुलुकभर ७ हजार हेक्टरमा मात्र जुट खेती भएको पाइन्छ। केही वर्षअघिसम्म छिमेकीमुलुक बङ्गलादेशले जुट खेतीमा सहयोग गर्ने र उत्पादित जुट पनि किनीदिने भएकाले नेपालमा ९७ हजार ५ सय मेट्रिक टनभन्दा बढी जुट उत्पादन हुन्थ्यो। अहिले यो संख्या झरेर मुश्किलले १५ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ।
नेपालमा जुटखेतीका लागि किशानहरु निरुत्साहित हुन पछाडी निम्न कारणहरु रहेका छन् ।
१. गुणस्तरीय बिउको अभाब
२. झन्झटिलो गोडमेल
३. कामदारको समस्या
४. कुहाउनका लागि पोखरीको अभाव
५. बजार भाउमा अस्थिरता
६. उपयुक्त नीतिको अभाव
दुई दशकअघिसम्म नेपालले कच्चा तथा प्रशोधित जुट भारत निर्यात गर्ने गर्थ्यो। तर अहिले भारतले नेपालका जुटजन्य सामग्रीमाथि अतिरिक्त कर (एन्टी–डम्पिङ ड्युटी) लगाएपछि नेपाली जुट उद्योग धरासायी बनेका छन् । नेपाली जुटका सामग्रीको प्रमुख बजार भारत नै हो । यहाँ उत्पादन हुने ९५ प्रतिशत जुटका वस्तु भारत निर्यात हुन्छन् । तर, भारत सरकारले नेपाली जुट सामग्रीलाई अतिरिक्त कर लगाइदिएपछि नेपाली उद्योग नै धरासायी बन्न पुगेका छ। राष्ट्रबैंकका अनुसार वार्षिक करिब छ अर्ब २४ करोड रुपैयाँको जुट भारत निर्यात हुँदै आएको छ ।
केही समयअघिसम्म ११वटा जुट मिल सञ्चालन भएको सुनसरी मोरङ औद्योगिक कोरिडोरमा हाल आएर मात्र पाँचवटा जुट मिल सञ्चालन छन्। सञ्चालनमा रहेका पाँच वटा जुटमिल ले वार्षिक ६ अर्ब भन्दा बढी प्रशोधित जुट भारत निर्यात गर्छन्। अझै पनि संचालनमा रहेका अधिकांश उद्योगहरु आफ्नो आधा क्षमतामा संचलान भैरहेका छन् । यी उद्योग हरुलाई पनि सरकारले संरक्षण दिएको छैन।
केही दशकअघिसम्म जब सबै ११ वटा जुटमिल हरु सञ्चालनमा थिए, त्यसबेला ५० हजार जनाले सिधा रोजगारी पाएका थिए। जब ६ वटा जुटमिलहरु बन्द भए, त्यसबेला २५ हजार जनाले आफ्नो रोजगार गुमाए ।
जुट खेतीबाट किशानहरु पलायन हुने क्रमसंगै तीन जिल्लामा करिब १ लाख संख्यामा रहेको पोखरी पनि मासिदै गएका छन्। जुट प्रसोधनका लागि कुहाउन र पखाल्न पोखरीको निर्माण गरिएको थियो।
सन्ठी कुहाउन रेशाहरु छुट्याउन हुने झन्झटले किसानहरु निरुत्साहित भएका छन्। राष्ट्रिय जुट बाली अनुसन्धान कार्यक्रमले उपयुक्त साधनश्रोत र प्रविधिको व्यवस्था गरे जुट खेती बढ्ने किसानहरु बताउँछन् ।
वातावरणीय दृष्टिले उत्तम मानिने कृषि उपज नगदेबाली जुटलाई सरकारले, प्रोत्साहन, संरक्षण र प्रबर्धन गर्न एकको खण्डमा जुट उत्पादन पनि बढ्ने र स्वदेशी उद्योगहरु पनि आत्मनिर्भर बन्नेछन ।
शार्दूल भट्टराई, गौरादह कृषि क्याम्पस