दिपेन्द्रबहादुर बराइली
बेलबारी । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले पहिचानको झिल्को पूर्वबाट सुरु भई देशैभर फैलिएको बताउनुभएको छ ।
मोरङको बेलबारीमा आइतबार प्रदेश नं. १ को नामाकंन संयुक्त संघर्ष समितीले प्रशिक्षण तथा जनजागरण अभियानमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कोशी नाम परिवर्तन भएर मात्र पहिचानवादीहरुको जीतत नहुने पहिचान जस्तै भाषा, संस्कृति , सिमाङ्कन, प्रकृतिसहितको सभ्यतालाई उठान गरी अहिले चलिरहेको आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने उहाँले बताउनुभयो । आहुतीले नेपालमा अहिलेको संघीयताको संरचनाले सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक,भाषा संस्कृति आदि पहिचानको मुद्दालाई दबाएको जिकिर गर्दै अब यस बिषयमा विशेष छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले किरात र लिम्बुवानको सभ्यताको निम्ति चलेको यो आन्दोलनमा दलित, ब्राह्मण, राजवंशी, थारु लगायतका अन्य समुदाय अथवा प्रदेश भित्र रहेका सम्पूर्ण उत्पीडन वर्गको विकास र न्यायका निम्ति राजनीतिक मुद्दा समावेश गर्न आन्दोलनकारीहरुले राजनीतिक कार्यक्रम बनाउन आवश्यक रहेको समेत सुझाव दिनु भएको थियो । सो अभियानको ब्यवस्थापन नेपाल आदिवासी महासंघ बेलबारी नगर कमिटीले गरेको थियो । उक्त अभियानमा प्रमुख प्रशिक्षणका रुपमा आहुती रहनु भएको थियो । त्यस्तै, किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष दिलकप्रसाद राई , धिमाल जातीय बिकास केन्द्रका केन्द्रीय सह–अध्यक्ष केदार धिमाल, नेकपा माओवादी केन्द्रका प्रदेश नेता प्रेम मिभकलगायत नामाङ्कन संघर्ष समितीका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको रहेको थियो ।
ADVERTISEMENT