
उर्लाबारीमा प्याब्सन स्पोर्टस मिट सुरु भएको छ । एक कार्यक्रमका बीच विहीबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले तीन दिने प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
उर्लाबारी–३ स्थित सालबारी खेल मैदानमा नगर प्याब्सनको आयोजनामा ‘प्याब्सन स्पोर्टस् मिट २०८०’ सुरु भएको हो । पुस १४ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मिटमा प्याब्सनमा आवद्ध उर्लाबारीका २१ वटा विद्यालयको सहभागिता रहेको छ । स्पोर्टस् मिटमा आधारभुत तह छात्र फुटसल, १५ वर्ष मुनिका छात्र फुटबल तथा कक्षा १० सम्मका छात्र र छात्राको भलिबल प्रतियोगिता राखिएको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता भीष्मराज बुढाथोकी, प्याब्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो । मोफसलमा रहेका प्रतिभावन खेलाडी तथा खेलाडी हुने तीव्र इच्छा बोकेका विद्यार्थीहरुलाई ‘स्पोर्टस मिट’ मा सहभागी गराएर देश तथा अन्तर्राष्ट्रिय जगतसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्याब्सन नगर अध्यक्ष दिनेश पोख्रेलले बताउनुभयो ।
तीन दिने खेल महोत्सवमा पाँच सय विद्यार्थीको सहभागिता रहने र प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्याब्सन नगर कोषाध्यक्ष आनन्द कार्कीले बताउनुभयो । प्रत्येक विधामा विजेता तथा उपविजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता अन्तर्गत छात्र भलिबलमा ९, छात्रा भलिबलमा ७ – १५ वर्षका छात्र फुटबलमा १२ र आधारभुत तहको फुटसलमा १८ विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो ।
स्पोर्टस् मिटमा तीन विधाका खेल मात्र समावेश गरिएको भएपनि अतिरिक्त क्रियाकलाप अन्तर्गतका विविध कार्यक्रम यसअघि सम्पन्न भएको सचिव कुलप्रसाद न्यौपानेले बताउनुभयो । वक्तृत्वकला, हिज्जे, चित्रकला, नृत्य प्रतियोगिता लगायत यसअघि नै सम्पन्न भइसकेका छन् । उद्घाटन कार्यक्रममा उर्लाबारी ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, प्याब्सन प्रदेश समिति सदस्य भुवन श्रेष्ठ, जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, भलिबल संघका कोशी प्रदेश उपाध्यक्ष वीरबल थापा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।