उर्लाबारी । सोमबार बिहान उर्लाबारीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय संक्रमित पुरुषको नोबेलमै मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बिहान ९ः३० बजेतिर उनको मृत्यु भएको हो ।
कात्तिक ४ गते कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको दाहालले बताए ।
त्यस्तै, उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो । स्वास्थ्यमा समस्या थपिँदै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै पुरुषको मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले जानकारी दिए । उनका अनुसार पुरुषको बिहान ९ बजेतिर मृत्यु भएको हो । मृतकमा मृगौलाको पुरानै समस्या थियो । दुवै मृगौलाको डाइलासिस गर्नका लागि नोबेल शिक्षण अस्पतालमा पु¥याइएका उनको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष थापाले बताए । यता उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कोरोना भाइरसका कारण उर्लाबारीमा आजैमात्र दुईको मृत्यु हुनु दुखद भएको बताउँदै नगरबासीहरुलाई सचेत र सजग रहन अपिल गरेका छन् । उनले भिडभाडमा माक्सको प्रयोग तथा भौतिक दुरी कायम गर्न पनि आब्हान गरेका छन् । उर्लाबारीमा पनि कोरोना भाइरसले जटिल अवस्था लिन सक्ने खतरा बढिरहेकाले सबै सचेत रहन उनले आग्रह गरेका हुन् । हालसम्म उर्लाबारीमा ५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय