उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा लामो समयदेखि कार्यरत कर्मचारी मुक्तिनाथ दाहालले गरेको आत्महत्याको बिषय लिएर भएको सहमति कार्यान्वयन नभएपछि पीडित परिवारले आजदेखि धर्ना सुरु गरेका छन् ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय उर्लाबारी–३ मंगलबारेमा विहान ९ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम रहेको मृतक दाहालका छोरा इशान दाहालले जानकारी दिए । प्रतिष्ठानद्धारा सञ्चालित बहुप्राविधिक शिक्षालय दमक–४ ताराबारीका लेखा तथा प्रशासन प्रमुख दाहालको असोज १९ गते गरेको आत्महत्या रहस्यमय भन्दै पीडित परिवारले छानविनको माग थियो । प्रतिष्ठानको हाताभित्र आत्हत्या गरेका दाहालको परिवार र प्रतिष्ठानबीच ९ बुँदे सहमति पनि भएको थियो । दाहालको आत्महत्या भएको २३ दिन वित्दासमेत सहमति कार्यान्वयन नभएको भन्दै पीडित परिवार, विद्यार्थी तथा नागरिक समाजले प्रतिष्ठानको केन्द्रीय कार्यालय उर्लाबारीमा हिजो तालाबन्दी गरेका थिए । प्रबन्धक निर्देशक अर्याललाई पक्राउ गरी कार्वाही गर्ने, मृतक दाहालका दुई छोराको अध्ययनका लागि प्रबन्ध मिलाउने, मृतक पत्नीलाई प्रतिष्ठानमा स्थायी कर्मचारीको ब्यवस्थापन गर्नेलगायत सहमति बनेको थियो । सामाजिक बिकाशमन्त्री जीवन घिमिरेसहितको उपस्थितीमा प्रतिष्ठान र मृतकका परिवार बीच सहमती भएको थियो । प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत बिनोद अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्या गरेको भन्दै उनलाई कानुनी कार्वाहीसहितको माग गरेको मृतक दाहालका भाई मदन दाहालले बताए । उनले सहमति भएका विषय कार्यान्वयन गर्न प्रतिष्ठान गम्भिर नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए । मागलाई बेवास्था गरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
मृतक दाहाल प्रतिष्ठान स्थापना भएदेखि नै २०५२ सालबाट कार्यरत रहेका थिए । उर्लाबारीको डिबी मार्गका स्थायी बासीन्दा दाहालका श्रीमती शान्ता र दुई छोराहरु रहेका छन् ।
ADVERTISEMENT