
नवराज भट्टराई, उर्लाबारी
उर्लाबारी नगरपालिका वडा नं. १ का जनप्रतिनिधिहरुको पहलमा गत तीन आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको विवरण सार्वजनिक गरिएको छ । शनिबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष मचिन्द्रकुमार कार्कीले वडाका जनप्रतिनिधिको पहलमा तीन आर्थिक वर्षमा ८ करोड ९० लाख ५१ हजार रुपियाँ बजेटको कार्य भएको बताउनुभयो ।
वडाध्यक्ष कार्कीले पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास र वातावरण तथा विकास कार्यक्रम अन्तर्गत वडा, नगर, प्रदेश, संघ स्तरीय योजनाबाट भएका कार्यहरु सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा पूर्वाधार विकासतर्फ १ करोड १९ लाख ६० हजार बराबरको २० वटा योजना, आर्थिक विकास कार्यक्रमतर्फ १५ लाख बराबरको तीन वटा योजना, सामाजिक विकासतर्फ ९ लाख ९० हजार बराबरको १८ वटा योजना र वातावरण तथा विपद् व्यवस्थापनतर्फ १० लाख बराबरको चार वटा कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा पूर्वाधार विकासतर्फ १ करोड ८३ लाख १० हजार रुपियाँका २२ वटा, आर्थिक विकासतर्फ १६ लाख रुपियाँको ७ वटा, सामाजिक विकासतर्फ ५१ लाख रुपियाँका १५ वटा तथा वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख रुपियाँका ६ वटा योजना सम्पन्न भएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
यसैगरी, आर्थिक वर्ष २०७६÷०७७ मा पूर्वाधार विकासतर्फका २२ योजना सम्पन्न भएका छन् । जसमा १ करो ३१ लाख ३५ हजार ८ सय ३२ रुपियाँ खर्च भएको छ । सो आर्थिक वर्षमा आर्थिक विकासतर्फ २२ लाख १ हजारका ७ वटा योजना, सामाजिक विकासतर्फ ३३ लाख ७५ हजारका १६ वटा योजना र वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८ लाख ८० हजार बराबरका ४ वटा योजना सम्पन्न भएको उहाँले बताउनुभयो ।
यस आर्थिक वर्षमा कोशी बक्राहा तटबन्धन अन्तर्गत बक्राहा खोलामा ५ सय मिटर तटबन्धन गर्न २ करोड ७० लाख रुपियाँको काम भएको वडाले जनाएको छ । यस अवधिमा वडा कार्यालय निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा प्राप्त भएको वडाध्यक्ष कार्कीले बताउनुभयो । स्थानीय नरबहादुर चौहान र इन्द्रबहादुर चौहानले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको हो । कार्यक्रममा वडा सदस्यहरु गम्भीर प्रधान, मोहनकर्ण श्रेष्ठ, टीका भुजेल र सन्तकुमारी विश्वकर्मा, वडामा गठित टोल विकास समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
उर्लाबारीका ९ वडा मध्ये वडाका जनप्रतिनिधिको पहलमा सम्पन्न योजनाहरुको विवरण सार्वजनिक गर्ने वडा नं. १ पहिलो वडा हो । अरु कुनै पनि वडाले सम्पन्न योजनाहरुको विवरण सार्वजनिक गरेका छैनन् ।