
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालसहित १० जनालाई कोरोना संक्रमण देखिएको छ ।
गत असोज २५ गते गरिएको स्वाब संकलनको प्राप्त रिपोर्ट अनुसार वडाध्यक्ष धिमालसहित १० जनालाई कोरोना संक्रमण देखिएको हो । वडाध्यक्ष धिमाल होम आइसुलेशनमा रहेका छन् । गत असोज २५ गते ९८ जनाको स्वाब संकलन गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा सहसंयोजक रेणुकाप्रसाद काफ्लेले जानकारी दिए । जसमा वडा नम्बर ५ का २ जना, वडा नं. ७ को १ जना, इलाका प्रहरी कार्यालय उर्लाबारीका ३ जना, नगरपालिकाका कर्मचारी २ जना र क्वारेन्टाईनका लागि नियुक्त गरिएका १ जना कर्मचारीलाई कोरोना पुष्टि भएको हो । असोज २६ गते संकलन गरिएको ७० जनाको रिपोर्ट अझैँ आउन बाँकी रहेको सहसंयोजक काफ्लेले जानकारी दिए । वडाध्यक्ष धिमालले सबै वडाबासीहरुलाई सचेत रहन अपिल गरेका छन् । यता उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसहित उनका सवारी चालक इन्द्र आपागाई, स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कालाई यसअघि नै कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरु होम आइसुलेसनमा रहेका छन् । मेयर फागोले कोरोना भाइरस समुदाय स्तरमा फैलिरहेकाले सचेत रहन पनि आग्रह गरे ।