२०७४ साल मंसिर १० र २१ मा गरी दुई चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच चुनाबी तालमेल पश्चात बाम गठबन्धन तयार भयो ।

मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा घनश्याम खतिवडा तत्कालिन एमालेबाट उम्मेद्वार बन्नुभयो भने प्रदेशसभा क तर्फ कुलप्रसाद साम्बा लिम्बू (कुशल) माओबादी केन्द्र र ख तर्फ उपेन्द्र घिमिरे एमालेतर्फबाट उम्मेद्वार बन्नुभयो । तीनै जनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वारलाई भारी मतले पराजित गर्न सफल हुनुभयो । मोरङको मिक्लाजुङ गाउँपालिका निवासी कुशलले १९ हजार ५५४ मत प्राप्त गरी विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ललित अधिकारीले १५ हजार २६३ मत मात्र प्राप्त गर्नुभएको थियो । चुनाब ताका जनमासमा खासै परिचित हुनु नभएका कुशलले मोरङ जिल्लामा प्रदेशसभाका उम्मेद्वार मध्ये सबैभन्दा धेरै मतअन्तरले विजयी भएपछि उहाँको चर्चा भयो । जनयुद्धमा बन्दुक र बारुद्धसँग लुकामारी गरेका सांसद कुशल प्रदेशसभामार्फत पहिलो पटक संसद भवन छिर्नुभएको थियो । सांसद कुशलले मोरङ क्षेत्र नं. १ मा गरेका विकास निर्माणलगायतका कामले निकै लोकप्रियता बढाएको छ ।

नाम जस्तै कुशल काम गरेर चर्चामा आएका सांसद कुशलले प्रदेश सरकारबाट उर्लाबारी–४ किसान चौकदेखि रमितेसम्मको सडक कालोपत्रे योजना ल्याउन सफल बन्नु भएको छ । अहिले सो सडक कालोपत्रेको क्रममा छ । त्यो मात्र होइन सोही सडकको मिक्लुक खोलाको पुल निर्माणमा पनि उहाँले ठूलै पहल गर्नुभएको छ । अहिले पुल पनि बन्ने क्रममा छ । त्यस्तै, उर्लाबारी–आम्बारी सडक होस् वा उर्लाबारी–मधुमल्ला सडक खण्डको सवाल उहाँले प्रदेश सरकार वा सम्बन्धित निकायमा पहल कदमी अघि बढाइरहनु भएको छ । मिक्लाजुङमा सडकदेखि खानेपानीका ठुला योजना सांसद कुशलकै पहलमा आएका छन् । सादा जीवन वेतित गर्ने सांसद कुशलले मोरङ क्षेत्र नं. १ क तर्फमा प्रदेश सरकारको ठूलो बजेट ल्याउन सफल बन्नु भएको छ । उहाँले उक्त क्षेत्रलाई नमूना बनाउने अभियानमा सक्रियपूर्वक लागिरहनु भएको छ । प्रदेश नं. १ सरकारबाट सबैभन्दा धेरै आफ्नो क्षेत्रमा योजना पार्ने सांसद कुशलले नै हुनुहुन्छ ।

आम जनताको साथ र सहयोगका कारण आफूले चुनाव जितेको बताउँदै जनतालाई अनुभूति हुने गरी विकास निर्माणका काम गर्ने प्रयास गरिरहेको उहाँको भनाई छ । खोला तटबन्ध, सडक निर्माण, जनता आवास कार्यक्रमलगायत योजनामा उहाँले पहलकदमी गर्दै आउनु भएको छ । अहिले मोरङ क्षेत्र नं. १ क मा सबै जनताको प्रिय सांसद कुशल बनिरहनु भएको छ । जनताका हरेक समस्यामा सारथी बन्ने गरेका कारण पनि उहाँको लोकप्रियता बढेको हो । जनताले मत दिएर जिताएको कारण जनताको अहित हुने कुनै काम आफुले नगर्ने उहाँले बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय