उर्लाबारी । उर्लाबारी नगरपालिकाले विद्यार्थीहरुलाई भौतिक रुपमा सहभागी गराएर पठनपाठन नगर्नु भनेपनि अधिकांश निजी विद्यालयले त्यसलाई अटेर गरी सञ्चालन गरिरहेका छन् ।
अधिंकाश निजी विद्यालयले भौतिक रुपमा विद्यार्थीहरु सहभागी गराइएको भएपनि यस बारेमा नगरपालिका बेखबर देखिएको हो । भौतिक रुपमा विद्यार्थी सहभागी गराउँदा कोरोना भाइरसको संक्रमण फैलिने निष्कर्षसहित भच्र्युअल्ल मार्फत पठन पाठन गराउन नगरपालिकाले निर्देशन दिएको थियो । तर, आफुखुशी विद्यालय सञ्चालन गरी अभिभावकहरुलाई रकम तिर्न दबाब दिइरहेको पाइएको छ । अभिभावकहरुसँग रकम असुलेपनि अधिकांश शिक्षकहरुलाई भने तलब दिएको छैन । बर्षौदेखि निजी विद्यालयमा काम गरेका शिक्षकहरुसमेत बेखुशी छन् । अनलाइन कक्षामा पनि प्रभावकारी नभएपछि अभिभावहरुसँग दशैं अघि नै रकम असुल्न विद्यालय खोलेको आरोप लागेको छ । कतिपय विद्यालयले परीक्षासमेत गर्नका लागि रकम माग गरिएको अभिभावकहरुले बताएका छन् । निजी विद्यालयले नगरपालिकाको निर्देशनलाई अटेरी गरी ‘दादागिरी’ शैली अपनाएको भन्दै अभिभावकहरुले खुलेर विरोध गरिरहेका छन् । तर, नियमक निकाय मौन छ । अभिभावकहरुलाई विद्यालयले बाध्य पारेर रकम असुली गर्न खोजेको देखिएको अभिभावक विष्णु भट्टराईको गुनासो छ । अर्को व्यवस्था नभएसम्म भच्र्युअल्ल कक्षा सञ्चालन गर्न आदेश नगरपालिकाले दिएपनि उर्लाबारीमा भने विद्यार्थीहरूलाई कक्षामै बोलाएर विद्यालय खुला गरिँदासमेत किन नगरपालिका मौन ? अभिभावकहरु प्रश्न गर्छन् । अभिभावकहरूले पैसा असुल्नका लागि निजी विद्यालयहरूले जबरजस्ती रूपमा भौतिक रूपमा कक्षा सञ्चालन गर्न लगाएको बताउँदै आएका छन् ।
यता उर्लाबारी नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रकाश गुरुङले भौतिक रुपमा विद्यालय सञ्चालन भएको कुनै जानकारी नआएको बताउँछन् । उनले भौतिक रुपमा विद्यार्थी सहभागी गराउनु गैरकानुनी भएको र त्यस्तो गरेको भए कार्वाहीको भागिदार हुने बताए । के विद्यार्थी भेला पारेर विद्यालय सञ्चालन गर्ने निजी विद्यालय कावार्ही हुन्छ त ? सानालाई ऐन ठूलालाई चैन नहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय