दिपेन्द्र बहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी–२ मा रहेको बाँसे चौरीमा आन्तरिक पर्यटनको गन्तव्य बन्दै गएको छ । विगत लामो समयदेखि ओझेलमा रहेको उक्त स्थान पछिल्लो दुई बर्ष यता गर्मीमा शितल छल्ने र जाडोमा वनभोज जानेहरुको घुँइचो लाग्ने गरेको छ । उर्लाबारी–२ को सुनझोडा सामुदायिक वन उपभोक्ता समुहको मातहतमा रहेको उक्त क्षेत्रलाई सिमसार तथा पर्यटनका निम्ति विकास गर्नका लागि उपभोक्ता समितिले वडा कार्यालयसँग समन्वय पर्यटकीय केन्द्र बनाउने जमर्को गरिरहेको छ ।
पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक शौचालय, धारा, बिजुली बत्ति, वनभोजका निम्ति ८ आठ वटा टहरा, ५ पाँच वटा फलैचा, आवतजावतकामा सहजीकरणका लागि बाटो मर्मत, वरिपरि घेराबारादेखि रुखमा रङरोगनजस्ता कार्यहरु वडाको सहयोगमा निर्माण गरिएको छ । आगामी आर्थिक बर्ष २०८०। ०८१ मा स्वागत गेट, थप शौचालय, वनभोज स्थल जस्ता अन्य आवश्यक भौतिक संरचनाहरुका निम्ति बजेट छुट्याइएको वडाअध्यक्ष राजन कुमार कडेलले जानकारी दिनुभयो ।
सुनझोडा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष जुट बहादुर धिमालका अनुसार त्यस क्षेत्रमा होटल खाजाघर संचालन गर्दैं आएका व्यवसायीहरुबाट जेठ महिनादेखि प्रत्येक दिन एक सय रुपैयाँका दरले उठाउन थालिएको छ । उक्त रकमबाट नै खानेपानी, बिजुली बत्तीको विल भरपाइ गर्दै आइएको छ । बचेको रकम उपभोक्ता समितिको कोषमा जम्मा गरेर विकासका निम्ति प्रयोग गर्ने योजना रहेको छ ।
उक्त स्थलमा पर्यटन भित्रिन थालेपछि स्थानिय बासिन्दाको आर्थिक आम्दानीमा निकै सुधार हुन थालेको छ । कोषाध्यक्ष धिमालले नगरपालिकाबाट डिपिआर गरी दीर्घकालीन योजनाहरु अघि बढाउने योजना रहेको सुनाए । एकान्त वातावरणमा रहेको यस क्षेत्रमा ठूलो चौर र घाँसे मैदानले त्यहाँ पुग्नेको ध्यान खिच्ने गरेको छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तरमा रहेको बाँसेचौरी तथा सिमसारलाई समेत ब्यवस्थित गर्न आवश्यक देखिन्छ । पथरी हुँदै पनि यहाँ सहज रुपमा पुग्न सकिन्छ । सिमसार क्षेत्रलाई ब्यवस्थित गर्न सकेको खण्डमा कृषकहरुसमेत लाभान्वित हुने स्थानीयबासीको भनाई छ ।