काठमाडौंका फिल्म हलहरुबाट महानगरले नगर प्रहरी फिर्ता गरेको छ । फिल्म ‘आदिपुरुष’मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएसम्म कुनै पनि अवस्थामा काठमाडौंका हलमा हिन्दी फिल्म चल्न नदिने भन्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले बिहीबार महानगरभित्रका हलहरुमा १०-१० जना नगर प्रहरी खटाएका थिए । तर, शुक्रबार बिहानै महानगरले सबै हलहरुबाट नगर प्रहरी फिर्ता बोलाएको हो ।

सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म काठमाडौंका फिल्म हलहरुमा प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

शुक्रबार बिहानदेखि महानगरका सबै हलहरुबाट नगर प्रहरी फिर्ता भएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पुष्टी गरेका छन् । ‘हिन्दी फिल्मलाई नेपाली जनताले नै बहिष्कार गरेको अवस्था छ ।’, उनले भने, ‘अब नेपाली जनताले नै फिल्म बहिष्कार गरेपछि हामी हलमा बस्नै परेन ।’

यसअघि मेयर बालेन शाहले काठमाडौंका हलमा हिन्दी फिल्म ‘ब्याण्ड’ गर्ने घोषणा गरेसँगै हलवालाहरु मेयर शाहविरुद्ध अदालत गएका थिए । उच्च अदालत पाटनले पनि हलवालाको पक्षमा फैसला गर्दै हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, मेयर शाहले सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने भन्दै हिन्दी फिल्म चल्न नदिने अडान लिएका थिए ।

बालेनको सो अभिव्यक्तिलगत्तै महानगरले काठमाडौंका हलहरुमा हिन्दी फिल्मको पदर्शनी रोक्न १०-१० जना नगरप्रहरी खटाएको थियो । तर, शुृक्रबार महानगरले सबै नगर प्रहरीलाई फिर्ता बोलाएको हो ।

यस्तै, नयाँ बानेश्वरस्थित वान सिनेमाजका महाप्रबन्धक उमेशराज गिरीका अनुसार हिन्दी फिल्म चलाउन सुरु गरिसकेको जनकारी दिए । उनले भने, ‘हामीले हिन्दी फिल्मको सेड्युल (तालिका) बनाइ सक्यौं । अब बेलुकी ५ बजेबाट फिल्म देखाउन सुरु गर्ने छौं । दर्शकको उपस्थिति होला नहोला त्यो आफ्नो ठाँउमा रहयो । हामीले हिन्दी फिल्म हेर्ने दर्शकहरुका लागि जरा ‘हटके जरा बचके’ चलाएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय