उर्लाबारी । कोशी प्रदेशको राजधानी विराटनगरबाट करिब ६५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा रहेको पूर्वपश्चिम राजमार्गको दुवै तर्फ फैलिएको उर्लाबारी नगरपालिकाको केन्द्र भागमा रहेको छ, ४ नम्बर वडा । यस वडालाई विविधायुक्त ऐतिहासिक वडाको रुपमा पनि चिन्ने गरिएको छ । परापूर्वकालदेखि नै आदिबासी जनजातिको बाहुल्यतासहितको बसोबास रहेको यस वडाका बासिन्दाहरु जीबीकोपार्जनका लागि पराम्परागत पेसा नै अंगाल्दै आईरहेका छन् । यो भनेको कृषि औजार प्रयोग गरेर खेतीपाती गर्नु हो । यो वडाको अर्को विशेषता भनेको उर्लाबारी नगरपालिका वडा नम्बर १,२,३,५,७ र ८ ले छोएको छ । वडा नम्बर ४ अन्य वडाको बीचमा छ । नगरको वडा नम्बर ६ र ९ ले मात्र वडा नम्बर ४ लाई छुँदैन । उर्लाबारी नगरपालिका वडा नम्बर ४ को क्षेत्रफल ८.६८ बर्ग किलोमिटर रहेको छ । राजमार्गको उत्तर दक्षिण फैलिएको यस वडामा नगरपालिका, हुलाक सेवा विभाग, पशुपंक्षी शाखा कार्यालय, उर्लाबारी बहुमुखी क्याम्पस, नेपाल बिद्युत प्राधिकरण उर्लाबारी कार्यालय, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको केन्द्रीय कार्यालय, वडा कार्यालय, क्षयरोग निवारण केन्द्र, उर्लाबारी रेडक्रस, नारी विकासको कार्यालय, सशस्त्र प्रहरी बल उर्लाबारीको कार्यालयलगायत यस वडामा पर्दछन् । उर्लाबारी अफसेट प्रेस, फिटशाला फिटनेश, ऊँ साई सत्य पेट्रोल पम्प, रिसोर्ट, समझदारी साकोस, शुभचन्द्र साकोसलगायत रहेका छन् । यस वडामा सडक कालोपत्रे, ग्राभेल, डे«न निर्माण लगायतका काम भइरहेको छन् । वडाले भौतिक विकासलाई पनि तीब्र गतिमा अघि बढाएको छ ।
साविक उर्लाबारी गाविसको १ र ५ नम्बर वडा मिलेर ४ नम्बर वडा बनेको हो । यस वडामा आइतबारे बजार रहेको छ । यो बजार पश्चिममा बग्ने बक्राहा नदीले स्थानीयको सयौं विगाहा जग्गा बगरमा परिणत गरिदिएको छ । एसियाली विकास बैंक (एडिबी) को परियोजना अन्तरगत तटबन्ध गर्ने काम अघि बढेको छ । तटबन्ध पूरा भएपछि वडाबासीले बर्षौदेखि भोग्दै आएको खोलाको समस्याबाट समाधान हुने विश्वास लिएको छ ।
यस वडामा क्षेत्री, बाहुन, राई, नेवार , तामाङ्ग, लिम्बू , झाँगर, मगर, कामी, दमाई, माझी, सार्की, सुनुवार,चौधरी, भुजेल, सतार, दनुवार, धिमाल र अन्य जात जातिको बसोबास रहेको छ । यस वडामा रहेका धेरै जसो मानिसले कृषि, ब्यापारलाई आम्दानीको मुख्य श्रोतको रुपमा मानेका छन् । केहीले व्यापार व्यवसाय गरेर जीवीकोपार्जन गर्छन् भने कतिपय बैदेशिक रोजगारलाई पनि जीवीकोपार्जनको भरपर्दो माध्यमका रुपमा लिएका छन् । वडा नम्बर ४ मा जम्मा जनसंख्या ९ हजार ७ सय ९० रहेको छ । जसमा पुरुष ४ हजार ६ सय २१ र महिला ५ हजार १ सय ६९ रहेका छन् ।
२०७१ बैशाख २५ गतेबाट साबिक उर्लाबारी गाविसका वडा नम्बर १ र ५ समायोजनपछि बनेको उर्लाबारी ४ नम्बर वडालाई उर्लाबारीको मुटुको रुपमा हेरिने गरिएको छ । पूर्वपश्चिम राजमार्गको करिब अढाई किलोमिटर उत्तर दक्षिणमा ४ नम्बर वडा फैलिएको छ । यहाँ प्रमुख बालीको रुपमा धान, मकै, गहुँ ,तेलहन, दलहनको उत्पादन बढी भएको पाइन्छ भने विभिन्न तरकारी बाली, फलफूल पनि पाइन्छ । वडा नं. ४ मा विगतमा आइतबार बजार लाग्ने भएकोले आइतबारे, विगतमा थापा र डांगीहरुको बसोबास भएकोले थापाडाँगी, स्कुल भएको डाँडो भएकोले स्कुल डाँडा जस्ता नाम रहेको बताइन्छ । यस्तै, चौबाटो, बिशाल टोल, छाता चौक, परिवर्तन टोललगायत धेरै टोलहरु रहेका छन् ।
त्यस्तै, वडाले महिलाहरुको सशक्तिकरणका लागि सिपमुलक तालिम सञ्चालन गर्नेलगायत कार्यक्रम गरिरहेको छ । परिवर्तन, आदर्श,आइतबारे, खोर्सानीवारी, विशाल टोल, भद्रमारी, त्रिवेणी, लक्ष्मीनारायण, किसान चोक, थापाडाँगी, भानु सिसौलीलगायत ११ वटा टोल विकास संस्था रहेका छन् । वडा कार्यालय हुलाक सेवाको भवनमा बस्दै आएको छ भने वडा कार्यालय निर्माणको पहल भइरहेको छ । यस वडामा बक्राहा बिष्णु गंगा घाट निर्माण कार्य सुरु भएको छ । समुन्द्री सतहबाट २६.५५ डिग्रि २६.७२ उत्तरी आक्षांश तथा ८७.५७ देखि डिग्री पूर्वी देशान्तर भूभागमा यो वडा रहेको पाइन्छ । यो वडा समुन्द्री सतहदेखि ११६ मिटर देखि १६४ मिटर उचाईमा रहेको छ । यस वडाका बासिन्दा विभिन्न धर्मका चाडपर्व मनाउँदछन् । जस्तै दशंै, तिहार, माघे सक्रान्ति, नयाँ बर्षहरु,चैते दशैं, साउने संक्रान्न्ति, तीज, राम नवमी, शिवरात्री, नाग पञ्चमी, फागु, इद, बुद्ध जयन्ती, साकेला, उधौली, उभौली, जनै पुर्णिामा, जात्री पर्व, छठ , ल्होसार, स्वस्थानी पूजा, गोठ पुजाहरुलगायतका धार्मिक कार्यक्रममा सहभागी हुने गरेका छन् । यसैबीच यस वडाबाट एक दैनिक पत्रिका, दुई साप्ताहिक, एक अनलाइन सञ्चालनमा रहेको छ । राष्ट्रिय समाचार पत्र दैनिक, न्यू् पाथिभरा साप्ताहिक, पूर्वज्योति साप्ताहिक, नेपाली पोर्टल अनलाइन यस वडाबाट सञ्चालित रहेका छन् । यस वडामा आधा दर्जन सक्रिय सञ्चारकर्मीहरुसमेत रहेका छन् ।
त्यस्तै, वडा नम्बर ४ ले दलित,लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आर्थिक समृद्धिका लागि वडाले सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।
यस वडामा धार्मिक स्थलहरुमा राधाकृष्ण मन्दिर, रामेश्वर शिवालय, सनातन धर्म सेवा समिति तथा अगी सामुदायिक भवन, लक्ष्मीनारायण मन्दिर, दाहाल परिवारद्धारा निर्मित दुर्गा मन्दिर, सरस्वती भर्जनकिर्तन मण्डली, सोमनाथ शिव मन्दिर, ऊँ जागरण अध्ययन अनुसन्धान केन्द्र, अभिषेक मण्डली, अन्नत जीवन मण्डली चर्चलगायत छन् । अर्को चर्च निर्माणधिन अवस्थामा रहेको छ । यस वडामा धर्मप्रति आस्था राख्ने मानिसहरुको बसोबास रहेको छ । त्यस्तै, यो वडा कृषिका लागि पनि उपयुक्त मानिन्छ । वडामा कोला, मकै, धान, डाइगन फ्रुट, सुपारी, सूर्यमुखीलगायत खेती रहेको छ । यहाँ मौरीपालन गर्ने कृषकहरुको संख्या पनि आधा दर्जन बढी रहेका छन् । मौरीपालन गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्दै आएको छ । व्यवसायिक सुगुरपालन, कुखुरापालन, माछापालनलगायत पनि यस वडामा रहेको छ ।
कृषिसँगसँगै जेष्ठ नागरिक हकहितका लागि पनि वडाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पाइन्छ ।
वडा नम्बर ४ मा रहेको अर्को उर्लाबारी बहुमुखी क्याम्पसले पनि वडाको पहिचान फरक ढँगले दिएको छ । उर्लाबारी, रतुवामाई, मिक्लाजुङको सिकाई अध्ययनको केन्द्रको रुपमा
रहेको उक्त क्याम्पसले ती बाहेक झापा, ईलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायतका जिल्लाका विद्यार्थीलाई स्नातोकोत्तरसम्म अध्ययन अध्यापन गराई रहेको छ । सो क्याम्पसमा अध्ययन अध्यापन गने विद्यार्थी मुलुक संचालन गर्ने जिम्मेबारी पदमा समेत पुगेका छन् । कतिपय विद्यार्थी मन्त्री भए भने कतिपय सचिव पद सम्म पुगेका छन् । ४ नम्बर वडामा सृजना आधारभूत बिद्यालय र भानु आधारभूत बिद्यालय गरी २ सामुदायिक बिद्यालय रहेका छन् । निजी स्तरको सप्तकोशी बोर्डिङ स्कुलमा १२ कक्षासम्म अध्ययन गराईदै आएको छ । यो उर्लाबारी नगरभित्रै उत्कृष्ट निजी विद्यालयको रुपमा स्थापित भएको छ । यस्तै, हिमचुली बोर्डिङ स्कुल, नेशनल भिजन इङ्लिस बोर्डिङ स्कुल र एस.टी. स्टिफन्स बोर्डिङ स्कुल रहेका छन् । सिद्धार्थ मन्टेश्वरीसहित २ वटा मन्टेश्वरी स्कुल रहेका छन् । सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिपन्न बर्गका विद्यार्थीहरुलाई वडा कार्यालयले सहयोग गर्दै आएको छ । त्यस्तै, वडाले खेलकुद क्षेत्रको विकासमा पनि विविध गतिबिधि गर्दै आएको छ । यस वडामा खडानन्द खतिवडा स्मृति कवर्ड हल रहेको छ भने फुटसल, जिम हललगायत रहेका छन् । फुटबल, ब्याटमिन्टर, भलिबललगायत सबै खेलमा वडाले सहयोग गर्दै आएको छ ।
त्यस्तै यहाँ गैह्र सरकारी कार्यालयको संख्या पनि सरकारी कार्यालयको तुलनामा कम छैन । गैह्र सरकारी संघ संस्थाले पनि वडाको विकासे काममा वडालाई सघाएकै छन् ।
यहाँका मानिसहरु घरधन्दा,कृषि, नोकरी ज्यालादारी, दक्ष रोजगारी, बैदेशिक रोजगारी, व्यापार, उद्योग जस्ता पेशामा आबद्ध छन् भने केही बेरोजगार पनि छन् । यस वडामा शारीरिक अपाङ्गता भएका ब्यक्ति २४ जना रहेका छन् । यस वडा नम्बर ४ को सिमाना पूर्वमा ५ नम्बर स्कूलडाँडा र ७ नम्बर भद्रमारी सडकले छुट्याउँछ । त्यसैगरी पश्चिममा बक्राहा नदि र सोल्टी खोलाले सिमाना छुट्याइएको छ । त्यस्तै उत्तरतर्फ वडा नं. १ पर्दछ भने दक्षिणमा वडा नं. ८ पर्दछ । यस वडाको क्षेत्रफल १२.८७ वर्ग किलोमिटर तथा १,२८६.८४ हेक्टर रहेको छ । यहाँका प्रमुख नदीहरु तथा खोलानालाहरु बक्राहा नदि, सोल्टी खोला रहेका छन् ।