
उर्लाबारी । मोरङको उर्लाबारी–४ किसान चौक–टाँडी सडक खण्डको ७ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।
किसान चौकदेखि ७ सय मिटर सडक कालोपत्रेका लागि १ करोड ११ लाख रुपैयाँमा ठेक्का लगाइएको हो । प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडाको पहलमा संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय मोरङबाट सडक कालोपत्रेको काम सुरु भएको मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले जानकारी दिए । डुण्डी निर्माण सेवाले ठेक्का पाएको उक्त सडकको कालोपत्रे चैत्र मसान्तभित्र सम्पन्न हुने जनाइएको छ । कालोपत्रेका लागि पहिलो चरणको काम थालिएको ठेकेदार पक्षले जनाएको छ । आज प्रदेश सांसद लिम्बूसहित इन्जिनियरहरुको टोलीले स्थलगत रुपमा अनुगमन गरेका छन् । सांसद लिम्बूले ठेकेदार पक्षलाई गुणस्तरिय काम गर्न निर्देशनसमेत दिए । त्यस्तै, सोही सडकको डे«न निर्माणका लागि पनि पहल भइरहेको उपभोक्ता सरोकार समितिका संयोजक केदार खतिवडाले जानकारी दिए । यस्तै, प्रदेश सांसद लिम्बूको पहलमा उर्लाबारी–१ र मिक्लाजुङ वडा नं. ६ को सिमानामा पर्ने मिक्लुक खोलादेखि मिक्लाजुङ गाउँपालिका–१ रमितेसम्म सडक कालोपत्रेको काम पनि भइरहेको छ । त्यस्तै, मिक्लुक खोलामा पुल निर्माणको काम पनि सुरु भइसकेको छ । उर्लाबारी र मिक्लाजुङ गाउँपालिकाको विकास र समृद्धिका लागि सांसद लिम्बू सक्रिय पूर्वक खटिरहेका छन् ।